

काठमाडौँ २१ असोज । नेपालमा पछिल्लो समय भएको स्वास्थ्यकर्मीमाथिको हिंसा एवम् कुटपिट घटनाप्रति विश्व चिकित्सक संघ (डब्लुएमए) ले निन्दा गरेको छ । विश्व चिकित्सक संघको ७४ औं महासभामा नेपालमा पछिल्लो समय चिकित्सकमाथि हुने आक्रमण र स्वास्थ्य संस्थामा भइरहेको व्यापक हिंसाको विश्व चिकित्सक संघले निन्दा गरेको हो।
यस्ता घटनाहरूले स्वास्थ्यकर्मीहरुको सुरक्षामा चुनौती बढेको भन्दै यसले देशमा स्वास्थ्य सेवाको गुणस्तरलाई कमजोर पार्ने सम्भावना समेत बढाएको संघको धारणा छ ।
‘हामी नेपाल चिकित्सक संघ र नेपालका जनतालाई अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्ध सबै स्वास्थ्यकर्मीहरूसँग दृढताका साथ उभिएका छौं। चिकित्सकहरू स्वास्थ्य सेवा प्रणालीको आधार हुन्, र तिनीहरूको सुरक्षाको रक्षा गर्नु अत्यन्त महत्त्वपूर्ण छ’, ‘सभालाई सम्बोधन गर्दै विश्व चिकित्सक संघकी अध्यक्ष डा लुजैन अलकोदमानीले भनिन्,‘हामी सबै सरोकारवालाहरूलाई यस अत्यावश्यक चिन्तालाई सम्बोधन गर्न र नेपालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा, सहज वातावरण र मर्यादाको लागि छिटो माध्यमबाट ग्यारेन्टी गर्न सबै एकजुट हुन आह्वान गर्दछौं।’
रुवाण्डाको किगालीमा आयोजित सो बैठकमा, विश्वभरका चिकित्सक लिडरहरूले चिकित्सकको सुरक्षा र स्वास्थ्य संस्थाहरूको महत्त्वमाथि चर्चा गरेका थिए।
जसअन्र्तगत नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल बिक्रम कार्की तथा महासचिव डा संजिव तिवारीले नेपालमा पछिल्लो १५ दिनमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र शारीरिक आक्रमणका साथै स्वास्थ्य संस्थामा तोडफोडका कम्तीमा सात घटनाको बारेमा अवगत गराएका थिए।
घटनाकाृ किस्सापश्चात् डब्लुएमएले नेपाली स्वास्थ्यकर्मीप्रति ऐक्यबद्वता जनाएको छ । ‘स्वास्थ्य क्षेत्रको कार्यस्थल हिंसा, हातहतियारको प्रयोग तथा हिंसाका अन्य परिस्थितिहरूमा चिकित्सक कर्मचारीहरूको संरक्षण र अखण्डता सम्बन्धि आफ्नो नीतिहरूलाई सम्झाउँदै, डब्लुएमए र यसका सदस्यहरूले स्वास्थ्यकर्मी र सुविधाहरू विरुद्ध हुने कुनै पनि प्रकारको हिंसाको कडा शब्दमा निन्दा गर्दछ, र आफ्ना नेपाली सहकर्मीहरूप्रति ऐक्यबद्धता व्यक्त गर्दछ’ डब्लुएमएको प्रस्तावमा उल्लेख छ ।