काठमाडौं, १६ असोज । नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सक संघ र संघर्षशील स्वास्थ्यकर्मीहरुसँग भएको सम्झौता अक्षरसः कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार संघीय संसद बैठकमा बोल्दै उनले चिकित्सकसँग सम्झौता भएको २४ घण्टा नबित्दै स्वास्थ्यकर्मीमाथि आक्रमणहरु दोहोरिएको भन्दै चिकित्सकसँग भएको जेल विथवाउट बेल सहितको सम्झौता कार्यान्वयन गर्न माग गरे ।
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई बिना धरौटी जेल चलान गरेर अनुसन्धान गर्ने व्यवस्था मिलाउनुपर्ने थापाको भनाइ छ ।
तत्कालिन समयमा पुष्पकमल दाहाल नै प्रधानमन्त्री र आफु स्वास्थ्यमन्त्री रहँदा बनाएको जनशक्ति र पूर्वाधार व्यवस्थापनको एकीकृत खाकासहितको एकीकृत स्वास्थ्य पूर्वाधार परियोजना र मापदण्ड मन्त्रालयमा धुलो लागेर बसेको भन्दै त्यसलाई टकटकाएर लागू गर्न पूर्व स्वास्थ्यमन्त्री थापाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
उक्त मापदण्ड कार्यान्वयन भए हाल जनसंख्यामा भएको चिकित्सक तथा स्वास्थ्यकर्मीको असमान वितरणमा सन्तुलन आउने सांसद थापाको भनाइ छ ।
हेरौं थापाले संसदमा गरेको सम्बोधनको क्लिप