काठमाडौं, ३१ भदौ । प्रत्येक वर्ष १७ सेप्टेम्बरमा बनाइने विश्व बिरामी स्वास्थ्य सुरक्षा दिवस नेपालमा पनि आइतवार विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
बिरामी सुरक्षाको विषय नेपालमा कम बहस हुने सार्वजनिक चासोको विषय हो । बिरामी सुरक्षाका सामान्यमात्र चर्चा हुने तर, सचेतना विस्तार र कार्यान्वयनका सन्दर्भमा ठोस प्रगति भएको छैन । विश्व विरामी स्वास्थ्य सुरक्षा दिवस (वल्र्ड पेसेन्ट सेफ्टी डे) का सन्दर्भमा विश्व स्वास्थ्य संगठनले बिरामी स्वास्थ्य सुरक्षाका लागि बिरामी वा स्याहारकर्ताले, स्वास्थ्यकर्मीले र नीति निर्माताले गर्नुपर्ने कार्यहरु सुझाएको छ ।
विश्व स्वास्थ्य संगठन नेपालले बिरामी स्वास्थ्य सुरक्षाका लागि सर्वप्रथम बिरामी वा उसको स्याहारकर्ताले बिरामीको स्वास्थ्यका बारेमा ज्ञान लिने, त्यसका बारेमा चिकित्सकसँग खुलेर कुरा गर्न सुझाव दिएको छ । चिकित्सक वा स्वास्थ्यकर्मीलाई आफ्ना स्वास्थ्यका बारेमा तथ्यकुरा बताउने र आफ्नो स्वास्थ्य अवस्था र आफुले लिइरहेको उपचारका बारेमा सचेत भएर स्वास्थ्यकर्मीलाई प्रश्न गर्न पनि संगठनले आग्रह गरेको छ ।
त्यस्तै, स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा दिने बेलामा बिरामीको स्वास्थ्य सुरक्षामा चनाखो र संवेदनशील हुनुपर्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ । बिरामीको स्वास्थ्य सुरक्षाको लागि व्यवसायिक ज्ञान र सीपको विकासमा सुनिश्चितता गर्नुपर्ने, स्वास्थ्य संस्थामा सुरक्षित सेवा प्रदान गर्ने खुल्ला र पारदर्शी संस्कृतिको विकास गर्नपनि विश्व स्वास्थ्य संगठनले भनेको छ ।
त्यस्तै, दिवसका अवसरमा संगठनले नीति निर्माताले गर्नुपर्ने काम पनि सुझाएको छ । उसका अनुसार नीति निर्माताले राज्यको व्ययभार कम गर्न बिरामीको स्वास्थ्य सुरक्षामा लगानी गर्नुपर्छ । त्यस्तै जीवन बचाउन बिरामीको सवस्थ्य सुरक्षामा लगानी गर्नैपर्ने संगठनको राय छ । विश्व स्वास्थ्य संगठनले दिवसको अवसरमा बिरामीको स्वास्थ्य सुरक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्न आग्रह गरेको छ ।