काठमाडौं, ३१ भदौ । मकवानपुरमा चिकित्सक कुटिएको विषयलाई लिएर आन्दोलनमा उत्रिएको चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले घटनाका दोषी पक्राउ नपर्दासम्म आन्दोलन जारी राख्ने अडान राखेको छ ।
स्वास्थ्य मन्त्रालयमा जारी संघ र सरकारी वार्ता टोलीको वार्तामा नेपाल चिकित्सक संघका प्रतिनिधिले दाषी पक्राउ गर्नपर्ने विषयलाई वटमलाइन बनाएका संघका सहसचिव डा. लिजन महर्जनले स्वास्थ्य डायरीलाई बताए । बटमलाईन अनुसार तत्काल दोषी पक्राउ नपरे आइतवार गरेको ओपिडी बन्द गर्ने आन्दोलन जारी राख्ने भन्दै चिकित्सक संघले वार्तामा सरकारी पक्षलाई दवाव दिएको छ ।
चिकित्सक संघले यसअघि दिएको ७२ घण्टाको अल्टिमेटममा सरकारले केही पहल नलिएको भन्दै संघले आइतवार देशभर ओपिडी सेवा बन्द गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रालयका अतिक्ति सचिव डा. बिकास देवकोटाको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका समेत प्रतिनिधि रहेको वार्ता कमिटि बनाएको हो ।
सो कमिटि र चिकित्सक संघका प्रतिनिधिबीच आइतवार ११ बजेदेखि सुरु भएको वार्तामा अन्य कुरामा सहमती भएपनि हेटौंडाका चिकित्सकद्व डा. विकास थापा र प्रशान्त विडारीलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न संघका प्रतिनिधिले अडान लिएको बताएका छन् ।
सरकारी टोलीका प्रतिनिधिले भने पक्राउ गर्ने प्रकृया अघि बढिसकेको र पक्राउ गरेर कार्वाही गर्न लिखित प्रतिवद्धता व्यक्त गर्न खोजेका छन् । वार्तामा सहभागी चिकित्सक संघका सहसचिव डा. लिजन महर्जनका अनुसार सरकारी टोलीले घटनाका दोषीलाई ५ दिनभित्र पक्राउ गर्ने सहमति गर्न आग्रह गरेका छन् । यद्यपी संघका प्रतिनिधिले चिकित्सकमाथि भएको आक्रमणका दोषीलाई पक्राउ नगर्दासम्म ओपिडी बन्द लगायत आन्दोलनका कार्यक्रम जारी राख्ने अडान लिएका छन् ।
वार्तामा चिकित्सक संघका तर्फबाट अध्यक्ष डा. अनिलविक्रम कार्की सहित ६ जना प्रतिनिधि रहेका छन् ।