काठमाडौं, २९ भदौ । मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ बजारमा आउने भएको छ ।
जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुख र पीडा लगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको डा. अनिलले बताए । पुस्तकको आवरण सार्वजनिक गर्न राजधानीमा शुक्रवार आयोजित एक कार्यक्रममा डा. अनिलले चिकित्सा पेशाबाहेक जीवनका विविध आयाममा आफ्ना भावनाहरु अभिव्यक्त गरिएको बताए ।
डा. अनिलका अनुसार पुस्तकमा सम्बन्धहरुको गहिराई केलाइएको छ । व्यक्तिको कर्तव्य, सोच र दायित्व लगायतका विषयमा पनि पुस्तक केन्द्रित छ । पुस्तकमा सकरात्मक सोचका कुरा पनि उल्लेख छन् भने सामाजिक रुपान्तरण, पारिवारिक दायित्व एवं पेशागत जिम्मेवारीलाई सँगै कसरी अघि बढाउने भन्ने विषयमा पनि अनिलले पुस्तकमा प्रसंगहरु उल्लेख गरेको बताए ।
यसअघि १० वर्षअघि पेशागत जीवनको सुरुवातकालमा डा. अनिलले म पनि डाक्टर भन्ने पुस्तक लेखेका थिए । हाल डा. अनिलले लेखेको पुस्तक जीवन्त सम्बन्धमा ५३ वटा खण्ड रहेका छन् भने २ सय ४० पृष्ठमा पुस्तक समेटिएको छ ।
पुस्तकको बिक्रिबाट प्राप्त हुने रकम असहाय वृद्धवृद्धाका लागि डा. ओम फाउण्डेशनमार्फत खर्च गरिने डा. अनिलले बताए ।
आगामी असोज ५ गते शुक्रबार लोकार्पण गरिने पुस्तकलाई अनलाईनमा दराज, इसेवा, हाम्रो पात्रो, डा. ओम फाउण्डेशनको बेभसाइट र डा. ओमको फेसबूक पेजमार्फतपनि अर्डर गर्न सकिन्छ । पुस्तकको काठमाडौं उपत्यकाभित्र निःशुल्क होम डेलिभरीको व्यवस्था गरिएको छ । राजधानी बाहिरको हकमा समिक्षा पब्लिकेशनले वितरण गर्ने जनाइएको छ ।
६ सय मूल्य राखिएको पुस्तकमार्फत पाठकले पनि असहाय वृद्धवृद्धाका लागि गरिने कार्यमा योगदान गर्नसकिने डा. अनिलको भनाइ छ । मुटुरोग विशेषज्ञ डा. अनिल नेशनल कार्डियाक सेन्टर बसुन्धारामा कार्यरत छन् । सामाजिक सञ्जालमा ठूलो संख्यामा फ्यान फलोइंग भएका डा. अनिललाई सेलिव्रेटी डाक्टरका रुपमा पनि चिन्ने गरिन्छ ।