काठमाडौं, ५ भदौ । काठमाडौमा डेंगी रोग फैलन नदिन लाम्खुट्टेको लार्भा नस्ट गर्न महानगरले वायो लार्भिसिद छर्कने भएको छ । यो जैविक भएको र नेपालमै पहिलो पटक प्रयोग गर्न लागिएको महानगरका प्रमुख बालेन शाहले जानकारी दिएका छन् ।
वायो लार्भासिदले लामखुट्टे र त्यसका लार्भालाई बाहेक अरुलाई हानी नगर्ने महानगरले स्पष्ट पारेको छ। ‘यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ ।’ महानगर प्रमुख बालेन शाहको फेसबूक पोस्टमा उल्लेख छ ।
औषधिले डेंगीसहित, फिलारिया, औलो, मलेरिया, चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुने जनाइएको छ ।
यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा रहेको कुरा पनि काठमाडौं महानगरले स्मरण गराएको छ ।
डेंगु वा अन्य कुनै स्वास्थ्य आपकाल परेमा वा अस्पताल जानु परेमा १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको बालेनले उल्लेख गरेका छन् ।
शहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवनजल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको पनि काठमाडौं महानगरले जनाएको छ ।
तस्वीरहरुः मेयर शाहको फेसबूकबाट