काठमाडौं, ४ साउन । प्राविधिक शिक्षा तथा सीप विकास परिषद्(सिटिईभिटी)ले यसअघि समायोजन गरेको नर्सिंग, एचए लगायतको नयाँ शुल्क तत्कालका लागि कार्यान्वयन नहुने भएको छ ।
यसअघि असार २९ गते परिषद्ले सूचना प्रकाशित गर्दै नर्सिंग, एचए र फार्मेसी सहायकको प्रमाणपत्र तहको शुल्क बढाएर नयाँ शुल्क तोकेको थियो । सो अनुसार प्रमाणपत्र तह नर्सिङको तीन वर्षेका लागि यसअघि रहेको ४ लाख ७५ हजार रुपैयाँबाट बढाएर ६ लाख २४ हजार २ सय ३० तोकेको थियो । त्यस्तै एचए पढ्न लाग्ने साविकको ४ लाख ४ हजारबाट बढाएर ५ लाख २३ हजार ८ सय २० रुपैयाँ शुल्क बनाइएको थियो । फार्मेसी असिस्टेन्टतर्फपछि ३ लाख ३७ हजार शुल्कबाट बढाएर ४ लाख २३ हजार ६ सय ६० तोकिएको थियो ।
२०७२ सालदेखि उल्लेखित विषयमा शुल्क समायोजन नभएको तर्क दिँदै शुल्क बढाउने निर्णय गरेको परिषद्को सूचनापछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीले चर्को विरोध गरेका थिए । डा. केसीले विज्ञप्ति निकाल्दै तत्काल शुल्क समायोजन गरिए कडा आन्दोलनको कार्यक्रम गर्ने चेतावनी दिएसँगै परिषद् शुल्क बढाउने निर्णयबाट पछि हटेको हो ।