काठमाडौं, २ साउन । चिकित्सा शिक्षाको सुधारमा क्रियाशिल डा. गोविन्द केसीले सिटिइभिटीले चिकिस्ता शिक्षाका विभिन्न विधामा शुल्क बढाएकोमा आपत्ति प्रकट गरेका छन् ।
मंगलबार विज्ञप्ति निकाल्दै डा. केसीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी)मा नियुक्त भएका राजनीतिक पार्टीका कार्यकर्ता र दलका माफियाले शुल्क वृद्धि गरेको केसीले आरोप लगाएका छन् । उनले भनेका छन्, ‘सिटिइभीटीमा स्वार्थको द्वन्द्व हुने गरी नियुक्त भएका पार्टीका कार्यकर्ता तथा माफिया पदाधिकारीका कारण यस्तो अचाक्ली निर्णय भएको हाम्रो ठहर छ ।’
डा. केसीले शुल्कबृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । समग्र चिकित्सा शिक्षालाई नियमन गर्न बनेको चिकित्सा शिक्षा ऐन र आयोगन बनिसकेको सन्दर्भमा आयोगसँग कुनै परामर्श नै नगरि शुल्क बृद्धि गर्नु बद्नियतपूर्ण रहेको केसीको ठहर छ ।
यसअघि सिटिइभिटीले १० वर्षपछि शुल्क वृद्धि गरिएको भन्दै नर्सिंग, एचए र फार्मेसीतर्फको शुल्कमा करिब ३० प्रतिशतले शुल्क वृद्धि गरेपछि केसी आक्रोशित भएका छन् ।