सिन्धुली, १० जेठ । सिन्धुलीको सिन्धुली अस्पतालबाट रिफर गरिएकी सुत्केरी महिलाको मृत्यु भएपछि तनाव बढ्दा अस्पतालमा कार्यरत १४ जना चिकित्सकले सामुहिक राजीनामा दिएका छन् ।
अस्पतालमा उपचाररत सिन्धुली कमलामाई नगरपालिका ५ की गंगा गुरुङ्ग श्रेष्ठको मंगलबार थप उपचारका लागि बर्दिबास रिफर गरिएको थियो । उनको बाटोमै मृत्यु भएपछि बिरामीका आफन्तले अस्पताल तोडफोड गर्नुका साथै नाराबाजी र आन्दोलन गरेका थिए ।
चिकित्सकको लापर्वाहीको कारण मृत्यु भएको भन्दै अस्पताल प्रांगणमा बिरामी पक्ष आन्दोलनमा उत्रिएको भन्दै चिकित्सकले सामुहिक राजीनामा दिएका हुन् ।
‘यस अस्पतालबाट प्रेषण गरिएकी सुत्केरी महिलाको मृत्यु पश्चात भएको भौतिक क्षति तथा स्वास्थ्यकर्मीको मानसपटलमा पुग्न गएको असरका कारण स्वस्थरुपमा बिरामीको उपचार गर्न सक्ने क्षमता नआइसकेको हुँदा हामी मानसिकरुपमा स्वस्थ नहुञ्जेल कुनैपनि सेवा प्रवाह गर्न नसक्ने व्यहोरा अनुरोध छ ।’ चिकित्सकहरुले अस्पताल प्रमुखलाई दिएको सामुहिक राजीनामामा उल्लेख छ ।
अस्पतालबाट सामुहिक राजीनामा दिनेमा डा. प्रेरित देवकोटा, डा. अर्पणा कार्की, डा. अस्मिता पाण्डे, डा. श्रेया थापा, डा. जयन्ती चौधरी, डा. सुजनविक्रम ढकाल, डा. सुवास कुमार शाह, डा. सरोज शाह, डा. सविन बनमाला, डा. राकेश पाण्डे, डा. चन्दन यादव, डा. सुदीप कुमार ठाकुर, डा. सबिन खड्का र डा. सजिना सिलवाल रहेका छन् ।