काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०३० सम्म सडक दुर्घटनाबाट हुने मृत्यु र चोटपटक कम्तीमा ५० प्रतिशत घटाउने लक्ष्य हासिल गर्न दक्षिण–पूर्वी एसियाली क्षेत्रका सदस्य राष्ट्रलाई सडक सुरक्षा प्रभावकारी बनाउन आह्वान गरेको छ।
डब्लुएचओका अनुसार सन् २०२१ मा विश्वभर सडक दुर्घटनाका कारण अनुमानित ११ लाख ९० हजार जनाले ज्यान गुमाएका थिए। त्यसमध्ये दक्षिण–पूर्वी एसियाली क्षेत्रमा मात्रै करिब तीन लाख ३० हजार जनाको मृत्यु भएको थियो। यो संख्या विश्वभर सडक दुर्घटनाबाट भएको कुल मृत्युको २८ प्रतिशत हो।
सडक दुर्घटना पाँचदेखि २९ वर्ष उमेर समूहका बालबालिका तथा युवाको मृत्युको प्रमुख कारण बनेको छ। तर, सन् २०१० देखि २०२१ सम्म दक्षिण–पूर्वी एसियाली क्षेत्रमा सडक दुर्घटनाबाट हुने मृत्युमा दुई प्रतिशत मात्रै कमी आएको छ। सोही अवधिमा विश्वव्यापी रूपमा यस्तो मृत्यु पाँच प्रतिशतले घटेको डब्लुएचओले जनाएको छ।
दक्षिण–पूर्वी एसियाली क्षेत्रका लागि डब्लुएचओका अधिकारी डा. निलेश बुद्धले सडक दुर्घटनाबाट हुने मृत्यु र चोटपटकले व्यक्ति, परिवार तथा समुदायमा गम्भीर असर पार्ने बताउनुभयो। उहाँले प्रमाणमा आधारित उपाय, प्रभावकारी नेतृत्व, लगानी र जवाफदेहितामार्फत दुर्घटना तथा त्यसबाट हुने क्षति कम गर्न सकिने उल्लेख गर्नुभयो।
‘दक्षिण–पूर्वी एसियाली क्षेत्रमा सुरक्षित आवागमन’ विषयमा आयोजित तीनदिने क्षेत्रीय सडक सुरक्षा बैठकको उद्घाटन गर्दै उहाँले सन् २०३० को लक्ष्य हासिल गर्न प्रतिबद्धतालाई प्रभावकारी कार्यान्वयनमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। बैठकमा स्वास्थ्य तथा यातायात मन्त्रालयका प्रतिनिधि, ट्राफिक प्रहरी, सडक सुरक्षा विज्ञ, संयुक्त राष्ट्रसंघ तथा विकास साझेदार संस्था र युवा प्रतिनिधिहरू सहभागी छन्।
डब्लुएचओका अनुसार दक्षिण–पूर्वी एसियाली क्षेत्रमा सडक दुर्घटनाबाट हुने मृत्युको ४६ प्रतिशत हिस्सा मोटरयुक्त दुई तथा तीनपाङ्ग्रे सवारीसाधनका चालक र यात्रुको छ। पैदलयात्री तथा साइकल चालकसमेत जोड्दा जोखिममा रहेका सडक प्रयोगकर्ताको हिस्सा कुल मृत्युमध्ये करिब दुईतिहाइ पुग्छ।
यसलाई ध्यानमा राख्दै मोटरसाइकल तथा स्कुटर चालक, तीनपाङ्ग्रे सवारी प्रयोगकर्ता, पैदलयात्री र साइकल चालकको सुरक्षालाई प्राथमिकता दिनुपर्ने डब्लुएचओको भनाइ छ। सुरक्षित सडक तथा सवारीसाधनको डिजाइन, सवारी गति व्यवस्थापन, प्रभावकारी कानुन कार्यान्वयन, सार्वजनिक यातायातमा सहज पहुँच र पैदलयात्रा तथा साइकलका लागि सुरक्षित पूर्वाधार निर्माणमा जोड दिनुपर्ने जनाइएको छ।
बैठकमा सडक सुरक्षा निकायको क्षमता सुदृढ गर्ने, सम्बन्धित निकायबीच जिम्मेवारी स्पष्ट पार्ने, स्वास्थ्य, प्रहरी तथा यातायात क्षेत्रका तथ्यांकलाई एकीकृत गर्ने र सडक सुरक्षा कानुनको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल हुनेछ।
त्यसैगरी दुर्घटनापछि तत्काल उपलब्ध गराइने आकस्मिक उपचार, ट्रमा सेवा तथा पुनःस्थापना सेवामा सुधार र सडक सुरक्षाका लागि दिगो वित्तीय स्रोतको व्यवस्था गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
डब्लुएचओले सडक सुरक्षालाई साझा जिम्मेवारीका रूपमा अघि बढाउँदै क्षेत्रीय तथा विश्वव्यापी प्रतिबद्धतालाई देशस्तरीय कार्ययोजनामा रूपान्तरण गर्नुपर्नेमा जोड दिएको छ।








