काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमको चर्को ओलचना गरेका छन् । संसदको आइतवार बसेको बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रचण्ड सरकार गठन हुँदाको न्युनतम साझा कार्यक्रममा समेटिएको निरोगी नेपाल कार्यक्रम नीति तथा कार्यक्रममा नअटाएको भन्दै सरकारको आलोचना गरेका हुन् ।
टिप्पणीका क्रममा ओलीले भने, ‘निरोगी नेपालको एउटा खास अर्थ थियो, बिरामी हुनै नदिने, पहिल्यैदेखि, बच्चैदेखि, गर्भमा रहँदादेखि कसरी शिशुलाई निरोगी बनाउने ? उसको शारीरिक र मानसिक विकास हुर्कँदैदेखि कसरी गर्ने त्यसपछि नागरिक भएपछि स्वस्थ कसरी राख्ने ? उसको जीवनका सम्पूर्ण पक्षहरु स्वस्थताका साथ चलुन् र बिरामी भइहाले उपचार पाओस् भन्ने थियो ।’
नीति तथा कार्यक्रमले आयुर्वेद र योगको थोरै चर्चा गरेपनि चिकित्सा पद्धतिका अन्य विधाहरु होमियोपेथी, एलोपेथी, प्राकृतिक चिकित्साका बारेमा ठोस कार्यक्रम नआएको ओलीको भनाइ छ ।
त्यस्तै ओलीले सरकारको स्वास्थ्य नीति उत्तरदायी नभएको भन्दै भूगोल र जनसंख्याको आधारमा प्रत्येक स्थानीय तहमा ५ देखि १५ शैयासम्मको आधारभूत अस्पताल स्थापना गर्ने, जिल्ला अस्पताललाई २५ देखि ५० शैयासम्मको अस्पताल र अञ्चल अस्पताललाई २ सय शैयाको जनरल अस्पतालमा स्तरोन्नति गर्ने पूर्वयोजना नसमेटिएकोमा आपत्ति जनाए ।
त्यस्तै, सरुवा रोग रोकथाम र उपचार एवं स्वास्थ्य विपद व्यवस्थापनको तयारी र प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सहितको ३०० शैयाको केन्द्रीय र न्यूनतम ५० शैयाको प्रदेशस्तरीय अत्याधुनिक सेवा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गर्ने योजना पनि नअटाएको, सेन्टर फर डिजिज कन्ट्रोल, फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन, राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिरणजस्ता स्वास्थ्य सेवालाई आधुनिकस्तरको बनाउने र अनुसन्धान र नियमनलाई प्रभावकारी बनाउने खालका कार्यक्रममा पनि नीति तथा कार्यक्रम उदासिन र गैरजिम्मेवार बनेको ओलीको आरोप छ ।