काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकको विषयलाई लिएर आफूले संविधानलाई जबर्जस्ती व्याख्या नगर्ने बताएका छन् । आफूले संविधान मिचेर कुनै पनि कदम नचाल्ने बताउँदै उनले शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना गर्ने बताएका हुन् ।
सोमबार नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियसनका पदाधिकारीहरूसँग भेटका क्रममा राष्ट्रपति पौडेलले नागरिकता विधेयकबारे चासो व्यक्त गरेका नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार राष्ट्रपति पौडेललाई भेटेर नागरिकता विधेयक प्रमाणीकरणका लागि अनुरोध गरेका थिए । प्रधानमन्त्रीले भेटेर फर्केलगत्तै राष्ट्रपति पौडेलले कानुनी परामर्श थालेका थिए ।
आइतबार नै राष्ट्रपति पौडेलले महान्यायाधिवक्ता दीनमणि पोखरेलसहितको टोलीसँग कानुनी परामर्श गरेका थिए । सोमबार पौडेलले बारका पदाधिकारीहरूसँग छलफल गरेका हुन् ।