काठमाडौं, ६ बैशाख । सरकारले बुधवारदेखि देशभर भिटामिन ए तथा जुकाको औषधि खुवाउन थालेको छ ।
कास्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार बुधवार र बिहीवार खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र एकवर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको हो ।
बालबालिकालाई हुने कुपोषण र बालमृत्युदर घटाउन थालिएको खोप कार्यक्रम अन्तर्गत यसवर्ष २७ लाख बालबालिकालाई भिटामिन ए र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको महाशाखाले जनाएको छ । सरकारले विसं २०५० देखि भिटामिन ए कार्यक्रम र २०५४ सालदेखि जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको हो । सरकारले स्थानीय तहका स्वास्थ्य स्वयंसेविका परिचालन गरि वर्षको दुईपटक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।