काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक पदका लागि नेपालसहित चार देशका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल, श्रीलंका, माल्दिभ्स र भुटानले उक्त पदका लागि आ–आफ्ना उम्मेदवार अघि सारेका छन् ।
डब्लुएचओले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार नेपालबाट डा. संगीता कौशल मिश्रा, श्रीलंकाबाट डा. अनिल जयसिंघे, माल्दिभ्सबाट डा. अहमद जम्शीद मोहम्मद र भुटानबाट साङ्गे नेग्दुप उम्मेदवार बनेका छन् ।

नेपालका तर्फबाट उम्मेदवारी दिएकी डा. मिश्रा यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त स्वास्थ्य सचिवका रूपमा कार्यरत थिइन् । दुई महिनाअघि उनको सरुवा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त सचिवका रूपमा भएको थियो ।
नेपालले यसअघि पनि सन् २०२३ मा उक्त पदका लागि उम्मेदवारी दिएको थियो । त्यतिबेला वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. शम्भूप्रसाद आचार्य नेपालको तर्फबाट प्रतिस्पर्धामा थिए । तर, उनी बंगलादेशकी उम्मेदवार साइमा बाजेदसँग भारी मतान्तरले पराजित भएका थिए । निर्वाचनमा बाजेदले १० मध्ये आठ मत प्राप्त गर्दा आचार्यले दुई मत मात्रै पाएका थिए । उक्त परिणामपछि नेपालको कूटनीतिक पहल र अन्तर्राष्ट्रिय समर्थन जुटाउने क्षमतामाथि प्रश्न उठेको थियो ।
यसपटक नेपालले प्रशासनिक तथा जनस्वास्थ्य क्षेत्रमा लामो अनुभव भएकी डा. मिश्रालाई उम्मेदवार बनाएको छ । बालेन नेतृत्वको सरकारले उनको पक्षमा क्षेत्रीय सदस्य राष्ट्रहरूको समर्थन जुटाउन कूटनीतिक पहल थालेको बताइएको छ । पछिल्लो भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि यस विषयमा कुरा उठाएको बताइएको छ ।

यद्यपि, भारतको समर्थन कुन देशका उम्मेदवारलाई रहने भन्ने विषय अहिलेसम्म सार्वजनिक भएको छैन । यस निर्वाचनमा भारतको समर्थन प्राप्त गर्ने उम्मेदवारको जित्ने सम्भावना बलियो रहने आकलन गरिएको छ ।
नेपालकी उम्मेदवार डा. संगीता कौशल मिश्रा चिकित्सक तथा जनस्वास्थ्य प्रशासक हुन् । उनले भारतको राजेन्द्र मेडिकल कलेजबाट एमबीबीएस, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रसूति तथा स्त्रीरोगमा एमडी र अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातकोत्तर (एमपीएच) गरेकी छन् ।
उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त सचिवका रूपमा काम गर्नुका साथै स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीसमेत सम्हालिसकेकी छन् । स्वास्थ्य नीति तथा योजना, अन्तर्राष्ट्रिय स्वास्थ्य समन्वय, स्वास्थ्य सेवा नियमन, जनसंख्या व्यवस्थापन र आपत्कालीन स्वास्थ्य व्यवस्थापन उनका प्रमुख कार्यक्षेत्र हुन् ।
स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा उनले राष्ट्रिय स्वास्थ्य कार्यक्रम, रोग नियन्त्रण तथा स्वास्थ्य आपत्कालीन व्यवस्थापनको नेतृत्व गरेकी थिइन् । उनको अनुभवमा स्वास्थ्य क्षेत्रका रणनीतिक योजना निर्माण, मातृ मृत्युदर अध्ययन, अन्तर्राष्ट्रिय स्वास्थ्य सहकार्य र ग्लोबल फन्डलगायतका साझेदार संस्थासँगको समन्वय पनि समेटिएको छ ।







