काठमाडौँ । वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रथम वर्षका आवासीय चिकित्सकहरूले आन्दोलनका कार्यक्रम अन्त्य गर्दै आजदेखि नियमित ड्युटीमा फर्किने भएका छन्। कलेज प्रशासन र आन्दोलनरत चिकित्सकबीच विभिन्न माग सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन अन्त्य भएको हो।
शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिन कार्यालय, नेपाल मेडिकल काउन्सिल, आवासीय चिकित्सक र कलेज प्रशासनबीच भएको वार्तामा सहमति जुटेको हो।
सहमतिअनुसार आन्दोलनमा सहभागी भएकै कारण कुनै पनि आवासीय चिकित्सकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दण्ड, सजाय, प्रतिशोध, मानसिक तनाव दिने, धम्की दिने वा कलेज तथा छात्रावासबाट निष्कासन गर्न पाइने छैन।
त्यस्तै, कटौती गरिएको सम्पूर्ण स्टाइपेन्ड फिर्ता गर्ने सहमति भएको छ। चिकित्सकलाई हप्तामा दुईभन्दा बढी २४ घण्टे ड्युटीमा लगाउन नपाइने तथा ड्युटीपछि आरामको व्यवस्था गर्ने निर्णय पनि सम्झौतामा समेटिएको छ।

नियमित परीक्षा र शोधपत्र स्वीकृतिका क्रममा अनावश्यक ढिलाइ नगर्ने तथा चिकित्सकलाई अयोग्य ठहर्याउने गतिविधि नगर्ने सहमति भएको छ। यसअघि राजीनामा दिएका र रिलिज लेटर प्राप्त गरेका आवासीय चिकित्सकलाई समेत बिनासर्त पुनः भर्ना गरिने उल्लेख छ।
त्यसैगरी, स्त्री तथा प्रसूति रोग विभागका अनुपस्थित रहेका ६ जना चिकित्सकको हाजिरी र स्टाइपेन्ड फिर्ताका लागि त्रिवि आइओएम क्याम्पसमा पहल गरिने भएको छ।
विभागीय प्रमुखको विवरण वा पुष्टिका आधारमा हाजिरी कायम गर्ने तथा २०८३ वैशाख १३ गतेदेखि छुटेका हाजिरी पुनः कायम गर्न आइओएम डिन कार्यालयसँग समन्वय गर्ने सहमति पनि भएको छ। बिदा स्वीकृतिका लागि विभागीय प्रमुख र प्रोग्राम कोअर्डिनेटर दुवैको हस्ताक्षर पर्याप्त हुने व्यवस्था गरिएको छ।
कलेज प्रशासनले सम्झौतामा हस्ताक्षर गर्दै सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै आवासीय चिकित्सकहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। उनीहरूले आजैदेखि नियमित ड्युटीमा उपस्थित हुने जनाएका छन्।










