काठमाडौँ । सडक दुर्घटना तथा अन्य विपद्बाट घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारले सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सातै प्रदेशमा आवश्यक उपकरण, दक्ष जनशक्ति, बहुविषयगत चिकित्सक टोली र प्रभावकारी व्यवस्थापनसहित ट्रमा सेन्टर स्थापना गर्ने बताएकी हुन् ।
प्रादेशिक ट्रमा सेन्टर स्थापना भएपछि सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशस्तरमै गर्न सकिने र बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्थासमेत व्यवस्थित हुने उनको भनाइ छ ।

मन्त्री मेहताले दुर्घटनापछिको उपचारमा अस्पतालपूर्वको आकस्मिक सेवालाई प्रभावकारी बनाउन सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागू गरिसकेको जानकारी दिइन् । उनका अनुसार देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत सेवा प्रवाह गर्न सङ्घीय तथा सातै प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई २४ सै घण्टा सञ्चालनमा राखिएको छ ।
उनले ट्रमा उपचारलाई शल्यक्रिया र औषधिमा मात्र सीमित गर्न नहुने बताउँदै शारीरिक पुनःस्थापना तथा मनोसामाजिक परामर्श सेवालाई पनि संस्थागत गर्नुपर्नेमा जोड दिइन् । दुर्घटनापछि देखिन सक्ने शारीरिक अपाङ्गता र मानसिक समस्यालाई सम्बोधन गर्न पुनःस्थापना सेवाको विस्तार गर्ने सरकारको नीति रहेको उनले स्पष्ट पारिन् ।
राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार र संस्थागत सुदृढीकरणमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री मेहताले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृति र दरबन्दी व्यवस्थापनका विषयलाई पनि छिट्टै टुङ्गोमा पुर्याइने बताइन् ।








