काठमाडौँ । नेपालमा बर्सेनि करिब ८० हजार मानिस जलनबाट प्रभावित हुने गरे पनि उपचारमा खटिने विशेषज्ञ चिकित्सकको संख्या निकै न्यून रहेको पाइएको छ। देशभर जलन उपचारको नेतृत्व गर्ने प्लास्टिक सर्जन नेपाल मेडिकल काउन्सिलमा करिब ३० जना मात्रै दर्ता छन्। तीमध्ये पनि सबै जलन उपचारमा सक्रिय छैनन्।
कुल जलनका बिरामीमध्ये करिब ६ देखि ७ हजार जना गम्भीर प्रकृतिका हुने र उनीहरूलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था रहेको छ। बिरामीको संख्या ठूलो भए पनि उपचारका लागि आवश्यक विशेषज्ञ जनशक्ति अभाव हुँदा जलन उपचार सेवा प्रभावकारी बनाउन चुनौती देखिएको छ।
यही समस्या समाधान गर्न सरकारले सातवटै प्रदेशका प्रादेशिक अस्पतालमा लेभल–३ को विशेष जलन उपचार सेवा विस्तार गर्ने तयारी गरेको छ। यसका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न एकमहिने विशेष तालिम कार्यक्रम सञ्चालन गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारको १०० कार्यदिने प्राथमिकतामा रहेको जलन उपचार सेवालाई सुदृढ बनाउन तालिम आयोजना गरिएको बताए। नेपाल सरकारको जलन उपचारसम्बन्धी मानक उपचार कार्यविधिअनुसार लेभल–३ को सेवा सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति उत्पादनमा तालिमले सहयोग पुर्याउने उनको भनाइ छ।
तालिमबाट प्राप्त ज्ञान र सीप सम्बन्धित अस्पतालमा प्रयोग गरी जलन उपचार वार्ड स्थापना तथा सेवा विस्तार गर्ने सरकारको अपेक्षा छ। देशभर जलनसम्बन्धी विज्ञको अभाव रहेकाले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न पनि यसले सहयोग पुग्ने मन्त्रालयको विश्वास छ।
कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार नयाँ प्लास्टिक सर्जन उत्पादन गर्न लामो समय लाग्ने भएकाले जनरल सर्जरी गरेका चिकित्सकलाई एकमहिने विशेष तालिम दिएर २० प्रतिशतसम्म जलन भएका बिरामीको उपचारमा परिचालन गर्ने योजना बनाइएको छ।
उनका अनुसार नेपालमा जलनको समस्या व्यापक भए पनि उपचार गर्ने अस्पतालको संख्या निकै कम छ। सामान्य जलनका बिरामीसमेत उपचारका लागि काठमाडौँ आउनुपर्ने बाध्यता छ। प्रादेशिक अस्पतालमै सेवा विस्तार गर्न सके बिरामीले आफ्नै क्षेत्रमा सहज उपचार पाउनेछन्।

कीर्तिपुर अस्पतालले दुई वर्षअघि नै जनरल वा प्लास्टिक सर्जरी गरेका चिकित्सकका लागि नेपाल मेडिकल काउन्सिलको मान्यतामा एकवर्षे बर्न फेलोसिप कोर्स सञ्चालन गर्दै आएको छ। सरकारबाट अन्य अस्पतालका स्वास्थ्यकर्मीलाई पनि तालिममा सहभागी गराउन सके उनीहरूको कार्यक्षमता थप बढ्ने डा. नकर्मीको भनाइ छ। यसका लागि आवश्यक बजेट, उपयुक्त कार्य वातावरण र प्रोत्साहनको व्यवस्था हुनुपर्ने उनले बताए।
कीर्तिपुर अस्पतालमा जलनका बिरामीको चापसमेत बढ्दै गएको छ। सन् २०१४ मा ९० जना बिरामीको उपचारबाट सेवा सुरु गरेको अस्पतालमा गत वर्ष करिब ९०० जना बिरामी भर्ना भएका थिए। यो संख्या सुरुवाती अवस्थाको तुलनामा १० गुणा बढी हो। अस्पतालमा दैनिक ३० जनाभन्दा बढी बिरामी वार्डमा भर्ना भएर बस्ने गरेका छन् भने ओपीडीमा दैनिक ३० देखि ३५ जनासम्म नयाँ तथा पुराना बिरामी आउने गरेका छन्।
डा. नकर्मीका अनुसार अस्पतालमा शल्यक्रियाका उपकरणको अभाव छैन। तर अत्याधुनिक प्रविधियुक्त ड्रेसिङ सामग्री र कृत्रिम छालाजस्ता महँगा सामग्री सहज रूपमा उपलब्ध हुन सकेका छैनन्। सरकारले यस्ता सामग्रीको उपलब्धतामा ध्यान दिन सके देशभर जलन उपचार सेवा थप भरपर्दो र सुलभ बन्ने उनको भनाइ छ।
प्रादेशिक अस्पतालमा विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको क्युरेटिभ सर्भिस डिभिजनले स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकलअनुसार सेवा विस्तारको योजना अघि बढाएको हो। यस्तो सेवा सञ्चालन गर्न जलन उपचारको तालिम प्राप्त एक जना सर्जन, ओटी नर्स र आईसीयू नर्ससहितको जनशक्ति आवश्यक पर्छ।
यसैअनुसार तयार पारिएको ३० कार्यदिनको एडभान्स्ड बर्न केयर ट्रेनिङको पहिलो चरणमा सुर्खेत र वीरगन्जका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीलाई तालिम दिइसकिएको छ। एक टोलीमा जनरल सर्जनको नेतृत्वमा आईसीयू नर्स, ओटी नर्स र वार्डका स्वास्थ्यकर्मी गरी चार जना सहभागी हुन्छन्।
तालिममार्फत २० प्रतिशतसम्म जलन भएका बिरामीको प्रादेशिक अस्पतालमै उपचार गर्न सक्ने क्षमता विकास गराइन्छ। यसमा शल्यक्रिया, आईसीयू तथा वार्डमा गरिने आपत्कालीन व्यवस्थापनलगायत सैद्धान्तिक र व्यावहारिक सीप सिकाइन्छ। अपरेसन थिएटर, आईसीयू र वार्डमै अभ्याससहित तालिम दिने व्यवस्था गरिएको छ। आगामी दिनमा अन्य अस्पतालका स्वास्थ्यकर्मीलाई पनि यस्तो तालिम दिने सरकारको योजना छ।







