काठमाडौँ । औषधि व्यवस्था विभागले ललितपुरका फार्मेसीमा गरेको छड्के अनुगमनका क्रममा अधिकांशले चिकित्सकको प्रेस्क्रिप्सनबिनै प्रतिजैविक (एन्टिबायोटिक) औषधि बिक्रीवितरण गर्ने गरेको पाइएको छ।
विभागले अनुगमन गरेका १६ वटा कम्युनिटी फार्मेसीमध्ये १३ वटाले चिकित्सकको प्रेस्क्रिप्सनबिना नै एन्टिबायोटिक बिक्री गर्ने गरेको फेला पारेको हो।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईका अनुसार अनुगमनका क्रममा फार्मेसीहरूबाट प्रतिजैविक औषधिको दुरुपयोग भइरहेको पाइएको छ। १६ मध्ये १३ फार्मेसीले चिकित्सकको सिफारिसबिनै ओभर द काउन्टर (ओटीसी) मार्फत एन्टिबायोटिक बिक्री गरिरहेको उनले बताए।
प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक बिक्री गर्ने फार्मेसीमा महालक्ष्मी नगरपालिका–१ स्थित अन्विका फार्मेसी, भर्टेक्स फार्मेसी र इजी फार्मेसी रहेका छन्।

यस्तै, ललितपुर महानगरपालिका–१५ स्थित विश्वास फार्मेसीसहित महानगरपालिका–२, ३, ४ र ७ मा रहेका अन्य फार्मेसीमा पनि यस्तो समस्या देखिएको विभागले जनाएको छ।
महानिर्देशक भट्टराईले चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक बिक्रीवितरण गर्ने फार्मेसीमाथि कानुनअनुसार कारबाही गरिने बताएका छन्।







