काठमाडौं । कान, नाक तथा घाँटी (ईएनटी) सम्बन्धी जटिल समस्या हुँदा उपचारका लागि ठूला सहर धाउनुपर्ने कर्णालीका नागरिकको बाध्यता केही कम भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र रिड्स नेपालको सहकार्यमा सञ्चालित विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रममार्फत एक हजार ३७ जनाले ईएनटी सेवा पाएका छन् भने ४३ जनाको शल्यक्रिया गरिएको छ ।
विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमले दुर्गम क्षेत्रमै विशेषज्ञ उपचार सेवा उपलब्ध गराउन सहयोग पुगेको प्रतिष्ठानका उपकुलपति प्रा.डा. सूर्यमान मेन्याङ्बोले बताए । उनका अनुसार यसअघि ईएनटीसम्बन्धी जटिल समस्या भएका बिरामी उपचारका लागि ठूला सहर जानुपर्ने अवस्था थियो ।

कार्यक्रमलाई थप प्रभावकारी बनाउन बेलायतस्थित मेडिकल एड इन्टरनेसनल यूकेको सहयोगमा करिब ८० लाख रुपैयाँ मूल्यको अत्याधुनिक जाइस ईएनटी सर्जिकल माइक्रोस्कोपसहित आवश्यक चिकित्सा उपकरण तथा सामग्री प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । उक्त उपकरणले शल्यक्रिया सेवा विस्तार गर्न र प्रतिष्ठानको उपचार क्षमता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा इयर एड नेपालका डा. माइक स्मिथ र डा. डीबी लामिछाने, अमेरिकाका डा. विल डिटर, प्रतिष्ठानका ईएनटी विभागीय प्रमुख डा. अनुपम कोइरालासहित बेलायतकी अडियोलोजिस्ट एमा, रजिस्टर्ड नर्स ग्याब्रिएल तथा अमेरिकाका फिजियोथेरापिस्ट निल सहभागी थिए ।
भौगोलिक विकटता, विशेषज्ञ जनशक्तिको अभाव र आर्थिक कठिनाइका कारण कर्णालीका नागरिकले स्वास्थ्य उपचारमा लामो समयदेखि समस्या भोग्दै आएका छन् । विशेषगरी जटिल रोगको उपचारका लागि अन्य सहर जानुपर्ने हुँदा बिरामी र परिवारले थप खर्च तथा समय व्यहोर्नुपर्ने अवस्था छ ।
प्रतिष्ठानमै विशेषज्ञ टोलीबाट शल्यक्रियासहितको सेवा उपलब्ध हुन थालेपछि बिरामीको उपचार खर्च र समय घट्ने तथा बाहिरी सहर धाउनुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ ।







