काठमाडौं । जलनका बिरामीले उपचारका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यसहित सरकारले सातवटै प्रदेशमा विशेषज्ञ जलन उपचार सेवा विस्तारको तयारी थालेको छ । यसका लागि प्रदेशका ठूला अस्पतालमा आवश्यक जनशक्ति उत्पादन गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशेष तालिम दिन थालिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सातवटै प्रदेशका एक–एक ठूला अस्पतालमा जलनको ‘स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकलअनुसार लेभल–३’ उपचार सेवा सञ्चालन गर्ने योजना बनाएको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिले ती अस्पतालमा सामान्य जलन उपचार सेवा उपलब्ध भए पनि तालिमप्राप्त जनशक्ति तयार भएपछि थप विशिष्टीकृत सेवा दिन सकिनेछ । त्यसका लागि सम्बन्धित अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एडभान्स बर्न केयर तालिम प्रदान गर्न थालिएको हो ।
सरकारले कोशी प्रदेशको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशको नारायणी अस्पताल वीरगञ्ज, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल नेपालगन्ज, कर्णाली प्रदेशको सुर्खेत अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती अस्पतालमा उक्त सेवा विस्तार गर्ने तयारी गरेको छ ।

पहिलो चरणमा नारायणी अस्पताल वीरगञ्ज र सुर्खेत प्रादेशिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ३० दिने जलन उपचारसम्बन्धी तालिम दिइएको छ । यसअघि मन्त्रालयले उनीहरूलाई छदिने प्राथमिक जलन उपचार तालिमसमेत दिएको थियो ।
तालिममा नारायणी अस्पतालबाट डा. प्रदीपकुमार ठाकुर, नगेन्द्र महतो, तबसुम बेगम र यस्मिन खातुन सहभागी थिए । त्यस्तै, सुर्खेत प्रदेश अस्पतालबाट डा. सोजन सापकोटा, रोशनी श्रेष्ठ, दलबहादुर विक र सुमन कँडेल सहभागी भएका थिए । दुवै अस्पतालका गरी आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मीले तालिम लिएका हुन् ।
तालिमबाट लेभल–३ को जलन उपचार सेवा सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति तयार हुने अपेक्षा मन्त्रालयले गरेको छ । तालिमप्राप्त जनशक्तिले सम्बन्धित अस्पतालमा जलन वार्ड स्थापना गर्न र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सहयोग गर्नेछन् ।
मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पतालमा तालिम सञ्चालन गरेको हो । निमित्त महानिर्देशक डा. पौडेलले तिहारपछि क्रमशः अन्य प्रदेशका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि जलन उपचारसम्बन्धी तालिम दिइने बताए ।







