झापा, १७ कार्तिक । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले एकीकृत क्यान्सर उपचार तथा प्यालिएटिभ केयर सेवासम्बन्धी युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजी (ईएसएमओ) को मान्यता प्राप्त गरेको छ।
अस्पतालले उपलब्ध गराएको प्रमाणपत्रअनुसार ईएसएमओको ‘Designated Centres of Integrated Oncology and Palliative Care Programme’ अन्तर्गत अस्पतालको स्वमूल्यांकन आवेदन समीक्षा गरिएको हो। प्रमाणपत्रमा यसको अवधि सन् २०२७ देखि २०२९ सम्म रहनेछ ।

अस्पतालका अनुसार स्पेनको म्याड्रिडमा २३ अक्टोबर मा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा प्रमाणपत्र प्रदान गरिएको थियो। अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र कुमार यादवले अस्पतालका तर्फबाट प्रमाणपत्र ग्रहण गरेका थिए।


यस कार्यक्रमले क्यान्सरको उपचारसँगै बिरामीको दुखाइ तथा अन्य समस्या कम गर्ने हेरचाहलाई एकीकृत रूपमा अघि बढाउने केन्द्रलाई मान्यता दिन्छ। प्रमाणपत्रमा अस्पतालले कार्यक्रमका सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्धता देखाएको उल्लेख छ।
प्यालिएटिभ केयर भनेको गम्भीर रोगका बिरामीको दुखाइ र अन्य शारीरिक, मानसिक तथा सामाजिक समस्या कम गर्दै जीवनको गुणस्तर सुधार्न दिइने हेरचाह हो। यस्तो सेवा क्यान्सरको उपचारसँगै उपलब्ध गराउन सकिन्छ।
अस्पतालले यस उपलब्धिबाट बिरामीकेन्द्रित उपचार तथा समग्र हेरचाहको गुणस्तर सुधार गर्ने प्रयासमा थप प्रोत्साहन मिलेको जनाएको छ। उपचारसँगै बिरामी र परिवारको सहजतालाई प्राथमिकता दिँदै सेवा विस्तार गर्ने प्रतिबद्धता पनि अस्पतालले व्यक्त गरेको छ।







