पर्वत । पर्वतको कुश्मास्थित प्रदेश अस्पतालमा ड्युटीमा खटिएकी एक नर्समाथि हातपात तथा कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कुश्मा नगरपालिका–२, खुर्कोटका २७ वर्षीय दीपक शर्मा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार आइतबार राति १२ः०५ बजे मादक पदार्थ सेवन गरी बिरामी कुरुवाका रूपमा अस्पताल पुगेका शर्माले अन्तरंग शाखामा अस्वाभाविक व्यवहार गर्दै अशान्ति मच्चाएका थिए ।

त्यसक्रममा ड्युटीमा रहेकी २२ वर्षीया नर्सले उनलाई सम्झाइबुझाइ गर्ने प्रयास गरेकी थिइन् । तर, शर्माले उल्टै नर्समाथि गालीगलौज गर्नुका साथै हातपात र कुटपिट गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शर्मालाई सोही दिन बिहान अस्पतालबाटै पक्राउ गरेको हो । उनीविरुद्ध ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
थप अनुसन्धानका लागि पर्वत जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक राजनकुमार पटेलले जानकारी दिएका छन् ।







