काठमाडौं । आत्महत्या रोकथाममा सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चारकर्मीलाई आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि अभिमुखीकरण दिएको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा सोमबार काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा ‘आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता गर्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले मानसिक स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा रहेको बताए । आत्महत्या रोकथामका लागि जनचेतना अभिवृद्धि, जोखिमको समयमै पहिचान र आवश्यक मनोसामाजिक तथा स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै सञ्चारमाध्यमको जिम्मेवार भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारकर्मीलाई आग्रह गरे । घटनालाई सनसनीपूर्ण ढङ्गले प्रस्तुत नगरी संवेदनशील, मर्यादित र जिम्मेवार भाषा तथा शैली अपनाउनुपर्नेमा उनले जोड दिए ।
अभिमुखीकरणमा मानसिक अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. अनन्त अधिकारीले आत्महत्यासम्बन्धी व्यवहार, जोखिमका सङ्केत र रोकथामका उपायबारे जानकारी गराए । समाचार लेख्दा घटनाको विस्तृत विवरण र प्रयोग गरिएको विधिभन्दा रोकथामका उपाय, सहयोगका उपलब्ध माध्यम तथा सकारात्मक सन्देशलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।
त्यसैगरी राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी शाखा प्रमुख शीला श्रेष्ठले आत्महत्या रोकथामसम्बन्धी सञ्चारकर्मीका लागि मार्गदर्शन, २०८० का प्रावधानबारे जानकारी गराइन् ।
अभिमुखीकरणबाट सञ्चारकर्मीले आत्महत्यासम्बन्धी समाचार तथा सूचना सम्प्रेषण गर्दा तथ्यपरक, संवेदनशील र जिम्मेवार पत्रकारिताको अभ्यास गर्ने तथा आत्महत्या रोकथामका प्रयासमा सञ्चारमाध्यमको सकारात्मक भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।








