काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा सेवा लिन आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ ।
स्वास्थ्य बीमा बोर्ड, बबरमहलले बोर्डको असोज १२ गतेको निर्णयअनुसार उक्त व्यवस्था लागू गर्न लागेको हो । नेपाल सरकार, गृह मन्त्रालयले २०८१ असार १० गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०८२ साउन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था गरेको थियो ।
बोर्डका अनुसार १६ वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा सेवा लिँदा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउनुपर्नेछ ।
तर, ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अति अशक्त अपाङ्गता भएका नागरिकका लागि भने राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छैन ।

बोर्डले सम्पूर्ण बीमित परिवारलाई एचआईबी ई–पोर्टलमार्फत नयाँ आबद्धता, नवीकरण तथा पुरानो विवरण अद्यावधिक (केवाईसी) गर्न आग्रह गरेको छ ।
यसअघि स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुँदा राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध नगराएका बीमितले पनि सम्बन्धित स्वास्थ्य संस्थामार्फत आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराएर सेवा लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । त्यसैले पुस १ गतेदेखि स्वास्थ्य बीमा सेवा लिन जाँदा सम्बन्धित बीमितले आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ ।
बोर्डले उक्त व्यवस्थाबारे सबै स्थानीय तहका स्वास्थ्य बीमा संयोजन समितिलाई जानकारी गराएको छ । साथै बीमित परिवारको विवरण अद्यावधिक गर्न तथा स्वास्थ्य सेवा लिन जाँदा राष्ट्रिय परिचयपत्र नम्बर साथमा लैजान सर्वसाधारणलाई जानकारी गराउन स्थानीय तहसँग आवश्यक समन्वय र सहजीकरण गर्न अनुरोध गरेको छ ।








