काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एप्पोन) ले अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको तयारीका लागि थप समय प्राप्त भएको भन्दै त्यसलाई स्वदेशी उद्योगको विकास र अत्यावश्यक औषधिमा आत्मनिर्भरता बढाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएको छ।

एप्पोनका अध्यक्ष विप्लव अधिकारीले एक धन्यवाद सन्देश जारी गर्दै नेपालको स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म विस्तार गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघ महासभाबाट सर्वसम्मतिले पारित भएको उल्लेख छ।
अधिकारीले नेपाल सरकार, विशेषगरी अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयप्रति आभार व्यक्त गरेका छन् । औषधि व्यवस्था विभाग, नेपाल उद्योग वाणिज्य महासंघ तथा संयुक्त राष्ट्रसंघ महासभालाई पनि वक्तव्यमार्फत धन्यवाद दिइएको छ।

अधिकारीले नेपालको सहज र दिगो स्तरोन्नतिका लागि सरकारले गरेको कूटनीतिक प्रयासको प्रशंसा गरेका छन्। औषधि क्षेत्रको नियामकीय तथा संस्थागत क्षमता सुदृढ बनाउन विभागको भूमिका र स्वदेशी उद्योगको विकास, संरक्षण तथा प्रतिस्पर्धात्मक क्षमता बढाउन महासंघको योगदानको पनि सन्देशमा चर्चा गरिएको छ।
थप तयारी अवधिलाई संरचनागत समस्या समाधान, स्वदेशी उद्योगको सुदृढीकरण, निर्यात प्रवर्द्धन र अत्यावश्यक औषधिमा आत्मनिर्भरता बढाउन उपयोग गर्नुपर्नेमम अधिकारीको जोड छ ।
औद्योगिक विकास, आर्थिक रूपान्तरण र राष्ट्रिय स्वास्थ्य सुरक्षाका लागि सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्न संघ प्रतिबद्ध रहेको सन्देशमा उल्लेख छ।







