पेरिस । फ्रान्समा पहिलोपटक मानिसमा ‘शामोन्डा भाइरस’ संक्रमण पुष्टि भएको छ। संक्रमित व्यक्तिको मृत्यु भइसकेको भए पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई हालसम्म विश्वमै देखिएको पहिलो मानव संक्रमणको घटना भएको जनाएको छ। साथै, यस घटनाबाट सर्वसाधारणमा तत्काल व्यापक जोखिम नरहेको संगठनको भनाइ छ।
डब्ल्यूएचओ र युरोपेली रोग रोकथाम तथा नियन्त्रण केन्द्रले फ्रान्सेली अधिकारीहरूसँगको सहकार्यमा घटनाको निगरानी गरिरहेका छन्। संक्रमित व्यक्ति अन्य गम्भीर स्वास्थ्य समस्याबाट पीडित हुनुका साथै उनको प्रतिरक्षा प्रणाली कमजोर रहेको बताइएको छ।
शामोन्डा भाइरस मुख्यतः गाईवस्तु, भेडा, बाख्रा, घोडा र अल्पाकाजस्ता जनावरमा देखिने अर्थोबुन्याभाइरस समूहअन्तर्गत पर्छ। यो भाइरस पहिलोपटक सन् १९६५ मा नाइजेरियामा गाईवस्तुमा पहिचान गरिएको थियो।
यसअघि अफ्रिका र जापानमा देखिएको यो भाइरस सन् २०२६ को गर्मीयाममा जर्मनी र स्विट्जरल्यान्डका गाईवस्तुमा पनि भेटिएपछि युरोपमा फैलिएको पुष्टि भएको थियो। त्यसपछि अस्ट्रिया, बेल्जियम, स्पेन, पोर्चुगल, आयरल्यान्ड र फ्रान्सलगायत देशका जनावरमा समेत संक्रमण देखिएको छ।
विश्व पशु स्वास्थ्य संगठन (डब्ल्यूओएएच) का अनुसार संक्रमित जनावरमा उच्च ज्वरो आउने, पखाला लाग्ने, दूध उत्पादनमा उल्लेख्य गिरावट आउने तथा गर्भ तुहिने समस्या देखिन सक्छ। त्यस्तै, संक्रमित जनावरबाट जन्मिने बच्चामा जन्मजात असामान्यता देखिने सम्भावना पनि हुन्छ।
यो भाइरस मुख्यतः ‘कुलिकोइडिस’ जातका साना उड्ने किराको टोकाइबाट जनावरमा सर्ने गर्छ। फ्रान्समा देखिएको मानव संक्रमणको घटनामा पनि संक्रमित व्यक्तिलाई देशको पूर्वी क्षेत्रमा कुनै किराले टोकेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
सामान्यतया यो भाइरस एक जनावरबाट अर्को जनावरमा वा एक व्यक्तिबाट अर्को व्यक्तिमा प्रत्यक्ष सर्ने गरेको प्रमाण फेला परेको छैन। यद्यपि, संक्रमित गर्भवती जनावरबाट गर्भस्थ भ्रूणमा भने संक्रमण सर्न सक्छ।
अर्थोबुन्याभाइरस समूहका अन्य भाइरसजस्तै शामोन्डा भाइरसको फैलावट पनि मौसमी किराको सक्रियतासँग सम्बन्धित हुने भएकाले स्वास्थ्य तथा पशु विज्ञहरूले यसको थप अनुसन्धान र निगरानीलाई तीव्रता दिएका छन्।









