दाङ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आइसियू) नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता छ। आवश्यक उपचार सेवा उपलब्ध नहुँदा अस्पतालले लामो समयदेखि बिरामीलाई अन्यत्र पठाउनुपरेको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाका अनुसार बिरामीलाई निरन्तर रेफर गर्नुपर्दा अस्पतालप्रति सर्वसाधारणको दृष्टिकोणसमेत नकारात्मक बन्ने गरेको छ। “अस्पताललाई रेफर सेन्टर भनेर व्यङ्ग्य गर्ने गरिन्छ,” उनले भने, “आइसियू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने अवस्था छ।”
अस्पतालमा सिटीस्क्यान सेवासमेत अवरुद्ध छ। सिटीस्क्यान उपकरण बिग्रिएको दुई वर्षभन्दा बढी भइसके पनि मर्मत हुन सकेको छैन। उपकरण मर्मतमा लाग्ने खर्च महँगो भएकाले सेवा सञ्चालन गर्न नसकिएको मेसु डा. होदाले जानकारी दिए।
त्यस्तै, अस्पतालको हेमोडायलासिस सेवामा पनि समस्या देखिएको छ। अस्पतालमा रहेका १६ वटा डायलासिस मेसिनमध्ये हाल नौवटा मात्रै सञ्चालनमा छन् भने बाँकी बिग्रिएका छन्। मेसिन पर्याप्त नहुँदा विपन्न परिवारका ९० जनाभन्दा बढी बिरामीले डायलासिसका लागि पालो कुरिरहेको डा. होदाले बताए। यी समस्याका कारण अस्पतालको सेवा प्रवाहमा असहजता भइरहेको उनको भनाइ छ।
अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले पनि डायलासिस सेवामा देखिएको समस्या समाधानका लागि थप पहल आवश्यक रहेको बताएका छन्। हाल अस्पताल १४१ शय्यामा सञ्चालन भइरहेको भए पनि यसले ५० शय्याको मात्रै सञ्चालन अनुमति पाएको छ।









