काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाको अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै संघीय सरकारी अस्पताललाई पत्राचार गरेको छ।
मन्त्रालयले दसैँ बिदाका समयमा अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन आवश्यक व्यवस्थापन मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेको हो।
अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको ड्युटी रोस्टर तयार गरी पर्याप्त जनशक्तिको व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ। यस्तै, आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा, सघन उपचार सेवासहितका अत्यावश्यक स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुने सुनिश्चित गर्न भनिएको छ।
त्यसैगरी, अस्पतालमा आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्रीको पर्याप्त मौज्दात राख्न मन्त्रालयले आग्रह गरेको छ। आकस्मिक अवस्था आइपरे तत्काल सेवा प्रदान गर्न अस्पताललाई तयारी अवस्थामा रहनसमेत निर्देशन दिइएको छ।
मन्त्रालयले दसैँ बिदाको अवधिमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न र अत्यावश्यक स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
सेवा प्रवाहका क्रममा देखिन सक्ने समस्या तथा गुनासोको तत्काल सम्बोधन र समन्वयका लागि प्रत्येक अस्पतालले एक जना सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्नुपर्नेछ। सम्पर्क व्यक्तिको नाम, पद, सम्पर्क नम्बर र ड्युटी रोस्टरसहितको विवरण मन्त्रालयले तोकेको इमेल ठेगानामा अनिवार्य रूपमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयले सम्बन्धित निकायलाई उल्लिखित व्यवस्थाको प्रभावकारी कार्यान्वयन तथा अनुगमन गर्न आग्रह गरेको छ। दसैँ बिदाको अवधिभर नागरिकले आवश्यक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने व्यवस्था सुनिश्चित गर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ।









