काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशका विभिन्न स्थानमा ट्रमा सेन्टर विस्तार गर्ने काम अघि बढाइएको बताएकी छन्। उपचारपछि घाइतेलाई पुनः सामान्य जीवनमा फर्किन सहयोग पुर्याउन पुनर्स्थापना केन्द्र निर्माणमा पनि सरकारले जोड दिएको उनको भनाइ छ।
ट्रमा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले राजधानीमा मात्र सीमित नराखी देशका विभिन्न भूभागका नागरिकलाई समयमै आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ट्रमा उपचार सेवाको पहुँच विस्तार भइरहेको बताइन्। दुर्घटनामा परेका व्यक्तिको ज्यान जोगाउनुका साथै उपचारपछि उनीहरूलाई सामान्य जीवनमा फर्काउन आवश्यक सहयोग र सेवा उपलब्ध गराउनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनले बताइन्।
सडक दुर्घटना, प्राकृतिक विपद् तथा अन्य आकस्मिक घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्नु राज्य, स्वास्थ्य क्षेत्र र समग्र समाजको साझा जिम्मेवारी भएको मन्त्री मेहताले बताइन्। दुर्घटनापछि घाइतेको जीवन रक्षा गर्न समयमै उद्धार, घटनास्थलमै प्राथमिक उपचार, शीघ्र अस्पताल पुर्याउने व्यवस्था र गुणस्तरीय आकस्मिक उपचारको महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ छ।
गम्भीर घाइतेको उपचारमा केही मिनेटको ढिलाइले समेत जीवन र मृत्युबीचको अन्तर सिर्जना गर्न सक्ने भएकाले आकस्मिक स्वास्थ्य सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक रहेको उनले बताइन्। त्यसका लागि एम्बुलेन्स सेवाको प्रभावकारिता बढाउने, स्वास्थ्य संस्थाबीचको समन्वय सुदृढ गर्ने तथा दक्ष जनशक्ति र आवश्यक उपकरणको उपलब्धता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिइन्।
मन्त्री मेहताले दुर्घटनापछि उपचार गर्नु जति आवश्यक छ, दुर्घटना हुनै नदिनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताइन्। सडक सुरक्षा, ट्राफिक नियमको पालना, हेल्मेट तथा सिट बेल्टको अनिवार्य प्रयोग र मादक पदार्थ सेवन गरेर सवारी नचलाउने विषयमा जनचेतना अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ।
गम्भीर दुर्घटना तथा चोटपटकका बिरामीको उपचार गर्ने उद्देश्यले स्थापना गरिएको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बर्सेनि बढ्दै गएको छ। सेन्टरको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार एक वर्षमा एक लाख २४ हजार ११२ जनाले बहिरङ्ग सेवा लिएका छन्। आर्थिक वर्ष २०८१/८२ मा एक लाख १४ हजार आठ सय जनाले बहिरङ्ग सेवा लिएका थिए।
ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीका अनुसार सेन्टरमा जटिल शल्यक्रियादेखि सामान्य चोटपटकसम्मका बिरामीको उपचार हुँदै आएको छ। उपलब्ध तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा १९ हजार २७१ जनाले आकस्मिक सेवा लिएका छन् भने छ हजार ७५७ जना उपचारका लागि भर्ना भएका छन्।
त्यसअघिको आर्थिक वर्षमा भर्ना हुने बिरामीको सङ्ख्या छ हजार ३८० थियो। सेन्टरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा आठ हजार १३९ वटा शल्यक्रिया भएका छन् भने आर्थिक वर्ष २०८१/८२ मा सात हजार ८१७ वटा शल्यक्रिया भएका थिए।
सेन्टरमा उपलब्ध शय्याको उपयोग दर ९०.७३ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०७५/७६ मा शय्या उपयोग दर ७३.३ प्रतिशत थियो। सेन्टरमा एक वर्षमा एक लाख २० हजार ३३९ वटा रेडियोलोजी परीक्षण र दुई लाख ५३ हजार ८३५ वटा प्रयोगशाला परीक्षण भएका छन्। अघिल्लो आर्थिक वर्षमा रेडियोलोजी परीक्षण एक लाख चार हजार पाँच सय र प्रयोगशाला परीक्षण दुई लाख ३१ हजार ७८० वटा भएका थिए।
आर्थिक वर्ष २०८२/८३ मा उपचारपछि डिस्चार्ज भएका छ हजार ५३३ बिरामीमध्ये एक हजार १६५ जना सडक दुर्घटनासँग सम्बन्धित चोटपटकका बिरामी थिए। सोही अवधिमा लडेर घाइते भएका दुई हजार २५७ जना र सामान्य चोटपटकका एक हजार ६५५ जना बिरामी डिस्चार्ज भएका थिए।
डा. मरासिनीले सडक दुर्घटनाबाट हुने मानवीय क्षति नेपालका लागि गम्भीर चुनौतीका रूपमा रहेको बताए। सडक दुर्घटनाबाट हुने चोटपटकले घाइते तथा उनीहरूका परिवारमा शारीरिक, मानसिक र आर्थिक भार थप्ने भएकाले दुर्घटना रोकथाम, समयमै उद्धार र गुणस्तरीय उपचारलाई सँगसँगै अघि बढाउन आवश्यक रहेको उनको भनाइ छ।









