काठमाडौं । शैक्षिक सत्र २०८३/८४ मा एमबीबीएस अध्ययनका लागि उपलब्ध २ हजार ७४५ सिटमध्ये निजी क्षेत्रका शिक्षण संस्थामा १ हजार ९७० र सरकारी तथा सार्वजनिक संस्थामा ७७५ सिट रहेका छन्। चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको संस्थागत विवरणअनुसार निजी क्षेत्रका १७ र सरकारी तथा सार्वजनिक क्षेत्रका ११ संस्थामा यी सिट छन्।
कुल सिटको करिब ७१.८ प्रतिशत निजी र २८.२ प्रतिशत सरकारी तथा सार्वजनिक संस्थामा छ। संस्थागत वर्गीकरणमा काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेसलाई निजी तथा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई सार्वजनिक समूहमा समेटिएको छ।
सरकारी तथा सार्वजनिक संस्थामध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा सबैभन्दा धेरै एक सय ३० सिटका दरले छन्। महाराजगञ्ज मेडिकल क्याम्पसमा एक सय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६५ सिट छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाञ्चल विश्वविद्यालयको स्कुल अफ मेडिसिन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० सिटका दरले छन्। यी सात संस्थामा गरी तीन सय ५० सिट छन्।

निजीतर्फ विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, काठमाडौं मेडिकल कलेज, काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेस, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा एक सय ३० सिटका दरले छन्। यी आठ संस्थामा मात्र एक हजार ४० सिट छन्।
गण्डकी मेडिकल कलेज, किस्ट मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेस, नेसनल मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा एक सय २० सिटका दरले छन्। यी छ संस्थामा गरी सात सय २० सिट छन्।
देवदह मेडिकल कलेजमा ९० तथा बीएन्डसी मेडिकल कलेज र जानकी मेडिकल कलेजमा ६० सिटका दरले छन्। निजी क्षेत्रका संस्थामा सबैभन्दा धेरै एक सय ३० र सबैभन्दा कम ६० सिट रहेको छ।
आयोगले असोज ३० गते सार्वजनिक गरेको सूचनामा स्नातक तहका अन्य कार्यक्रमसँगै डीएम/एमसीएच र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजअन्तर्गतका सब–स्पेसियालिटी कार्यक्रमको विवरणसमेत समावेश छ।









