स्याङ्जा—बीएम फाउण्डेशनको आयोजना, ताइवान प्रिभेन्ट ब्लाइन्डनेस (टीपीबी) र बिरुवा गाउँपालिकाको सहयोग तथा बी.पी. आई फाउण्डेशनको प्राविधिक सहयोगमा सञ्चालित दुई चरणका निःशुल्क आँखा शिविरबाट करिब १,५७४ जनाले सेवा लिएका छन्। दुवै चरणमा पहिचान भएका बिरामीमध्ये कुल १२४ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ।
बीएम फाउण्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार करिब चार महिनाअघि पहिलो चरणमा गाउँपालिकाका वडा नम्बर १, ३, ४ र ६ मा ५७४ जनाको आँखा परीक्षण गरिएको थियो। सेवाग्राहीलाई आवश्यकताअनुसार निःशुल्क चस्मा र औषधि वितरण गरिएको थियो। त्यही क्रममा ४० जनामा मोतिबिन्दुको शल्यक्रिया आवश्यक देखिएको थियो।
पहिलो चरणमा पहिचान भएका बिरामीलाई उपचार उपलब्ध गराउन र बाँकी वडाका बासिन्दाको आँखा परीक्षण गर्न दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिएको श्रेष्ठले जानकारी दिए।
विश्व दृष्टि दिवस २०२६ को अवसरमा अक्टोबर ७ देखि १० सम्म सञ्चालित पछिल्लो कार्यक्रममा वडा नम्बर ७, ८, २ र ५ मा करिब एक हजार जनाको आँखा जाँच गरिएको थियो। परीक्षणसँगै निःशुल्क औषधि, चस्मा र आँखा स्वास्थ्यसम्बन्धी जानकारी उपलब्ध गराइएको थियो।
अक्टोबर ९ र १० मा वडा नम्बर ६ स्थित चिन्नेबास अस्पतालमा मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो। पहिलो चरणमा शल्यक्रिया आवश्यक देखिएका ४० जना र दोस्रो चरणमा पहिचान भएका बिरामीमध्ये गरी कुल १२४ जनाको शल्यक्रिया गरिएको श्रेष्ठले बताए।
मोतिबिन्दु र नजिकको दृष्टिसम्बन्धी समस्या बढी
श्रेष्ठका अनुसार आँखा परीक्षणमा करिब ३०० जनामा मोतिबिन्दु र ६०० जनामा उमेरसँगै नजिकको वस्तु स्पष्ट देख्न कठिन हुने समस्या ‘प्रेसबायोपिया’ भेटिएको थियो।
त्यस्तै, करिब ५० जनामा आँखा सुक्खा हुने समस्या, १०० जनामा आँखाको सेतो भागमा पहेँलो उठेको धब्बा देखिने ‘पिङ्ग्वेकुला’ र २० जनामा आँखामा मासु पलाउने ‘टेरिजियम’ पहिचान भएको थियो।
कार्यक्रममा नियमित आँखा जाँच, समस्याको प्रारम्भिक पहिचान र समयमै उपचारको महत्त्वबारे जानकारी दिइएको थियो। फाउण्डेशनले शिविर सम्पन्न गर्न योगदान गर्ने स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय जनप्रतिनिधि तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरेको छ।








