काठमाडौं—स्तन क्यान्सर सचेतना महिना ‘पिंक अक्टोबर’को अवसरमा रक्षा क्यान्सर केयर सोसाइटीले काठमाडौंमा सचेतना र्याली आयोजना गरेको छ। स्तन क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले आयोजित र्यालीमा विभिन्न संघसंस्थाका करिब ७०० जनाको सहभागिता थियो।
र्यालीको उद्घाटन वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा स्तन क्यान्सर विजेता वरिष्ठ गायिकाद्वय मीरा राणा र तारा थापाले संयुक्त रूपमा गरेका थिए।

भृकुटीमण्डपबाट सुरु भएको र्यालीका क्रममा धरहराको चारैतर्फबाट गुलाबी रङको कपडा फहराइएको थियो। स्तन क्यान्सर सचेतनाको प्रतीक मानिने गुलाबी रङमार्फत रोगबारे खुलेर कुरा गर्न र समयमै परीक्षण तथा उपचारप्रति ध्यान दिन सन्देश दिइएको थियो।
कार्यक्रममा रक्षा क्यान्सर केयर सोसाइटीकी अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले स्तन क्यान्सरको समयमै पहिचान र उपचारको महत्त्वबारे बताइन्। समयमै उपचार सुरु भए निको हुने सम्भावना बढ्ने उल्लेख गर्दै उनले जनचेतना विस्तार र परीक्षणमा पहुँच पुर्याउनुपर्नेमा जोड दिइन्।

डा. प्रजापतिका अनुसार संस्थाले सचेतना कार्यक्रमसँगै निःशुल्क म्यामोग्राफी परीक्षणसमेत गराउँदै आएको छ। म्यामोग्राफी स्तनको एक्सरे परीक्षण हो, जसले स्तनमा भएका शंकास्पद परिवर्तन पहिचान गर्न मद्दत गर्छ।
र्यालीमा इनरव्हिल डिस्ट्रिक्ट ३५० का विभिन्न पदाधिकारी, क्यान्सर विजेताहरू, पप गायक धीरज राई, कलाकार तथा गायक यमन श्रेष्ठ, मिस नेपाल वर्ल्ड दीपमाला ढकाल र विभिन्न राष्ट्रिय खेलाडीहरूको समेत सहभागिता थियो।
विभिन्न वक्ताले स्तन क्यान्सरबारे सचेतना, समयमै परीक्षण र उपचारको महत्त्वसम्बन्धी सन्देश दिएपछि र्याली वसन्तपुर दरबार क्षेत्रमा समापन भएको थियो।








