

काठमाडौं । लामो समयदेखि रोकिएको आयुर्वेद चिकित्सा लाइसेन्स परीक्षा तत्काल सञ्चालन गर्न माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
नेपाल आयुर्वेद चिकित्सा परिषद्को नियमावलीअनुसार प्रत्येक ६–६ महिनामा नियमित रूपमा सञ्चालन हुनुपर्ने लाइसेन्स परीक्षा लामो समयदेखि रोकिँदा अध्ययन पूरा गरेका विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक भविष्य अन्योलमा परेको भन्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले मंगलबार प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन्।
विज्ञप्तिमा परिषद्मा आवश्यक कर्मचारीको पदपूर्ति तथा प्रशासनिक व्यवस्थापनमा सरकारले तदारुकता नदेखाउँदा नियमित कार्यसम्पादन प्रभावित भएको उल्लेख छ। त्यसको प्रत्यक्ष असर विद्यार्थीको भविष्यमा परेको युनियनको भनाइ छ।
अखिल (क्रान्तिकारी) ले नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय र नेपाल आयुर्वेद चिकित्सा परिषद्लाई तत्काल लाइसेन्स परीक्षाको कार्यतालिका सार्वजनिक गरी परीक्षा सञ्चालन गर्न माग गरेको छ।
परिषद्को कार्यविधिअनुसार ६–६ महिनामा हुनुपर्ने लाइसेन्स परीक्षाको पछिल्लो अर्थात् १४औँ परीक्षा २०८२ चैत ३० गते भएको थियो। त्यसअनुसार २०८३ असोजभित्र अर्को परीक्षा हुनुपर्ने भए पनि हालसम्म परीक्षा तालिका सार्वजनिक गरिएको छैन।
परीक्षा सञ्चालनमा थप ढिलाइ गरेर विद्यार्थीको भविष्य अन्योलमा पारिए कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत अखिल (क्रान्तिकारी) ले दिएको छ। त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने उसको भनाइ छ।



