

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को क्षेत्रीय निर्देशक पदका लागि नेपालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई उम्मेदवार बनाउने तयारी गरेको छ।
तत्कालीन क्षेत्रीय निर्देशक बंगलादेशकी साइमा वाजेदले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त छ। सो पदमा डा. मिश्रालाई अघि सार्ने निर्णय सरकारले गरिसकेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। उनका लागि सदस्य राष्ट्रहरूसँग कूटनीतिक समन्वय गर्दै समर्थन जुटाउने गृहकार्यसमेत सुरु भइसकेको स्रोतको भनाइ छ।
डब्लूएचओले नयाँ क्षेत्रीय निर्देशक चयनको औपचारिक कार्यतालिका चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ। स्रोतका अनुसार आगामी अक्टोबर १२ मा उम्मेदवारी आह्वान गर्ने र जनवरी २४ मा निर्वाचन गर्ने तयारी भइरहेको छ। नेपालसँगै भुटान, माल्दिभ्स र श्रीलंकाले पनि आफ्ना उम्मेदवार अघि सार्ने तयारी गरिरहेका छन्।
डब्लूएचओको दक्षिण–पूर्वी एसियाली क्षेत्रमा ११ सदस्य राष्ट्र छन्। तर, यसपटक १० देशले मात्रै मतदानमा भाग लिन पाउनेछन्। सन् २०२१ को सैन्य ‘कु’ पछि संयुक्त राष्ट्रसंघको प्रतिबन्धमा रहेको म्यानमार मतदान प्रक्रियाबाट बाहिर रहनेछ।
नेपाल, भारत, भुटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलंका, थाइल्यान्ड र टिमोर–लेस्टेलगायतका देश निर्वाचनमा निर्णायक मतदाता मानिएका छन्। विशेषगरी भारतको समर्थन कुन उम्मेदवारलाई रहन्छ भन्ने विषयले निर्वाचनको परिणाममा ठूलो प्रभाव पार्ने स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन्।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले डा. मिश्रालाई क्षेत्रीय निर्देशकको उम्मेदवार बनाउने निर्णय मन्त्रिपरिषद्ले समेत गरिसकेको र अब सदस्य राष्ट्रहरूबाट समर्थन जुटाउने गृहकार्यमा सरकार लागेको बताए।
यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका पालामा डा. मिश्रालाई स्वास्थ्यमन्त्री नियुक्त गर्न प्रस्ताव गरिएको थियो। उनको नाम अनुमोदनका लागि राष्ट्रपतिको कार्यालयमा समेत पठाइएको थियो। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेर छानबिन भइरहेको जानकारी पाएपछि उनलाई मन्त्री नियुक्त गर्ने निर्णयबाट कार्की पछि हटेकी थिइन्। विशेष अदालतले गत १ असारमा उक्त मुद्दामा डा. मिश्रालाई सफाइ दिएको थियो।
यसअघि सन् २०२३ मा भएको सेरो क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट डब्लूएचओ मुख्यालयमा कार्यरत वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. शम्भु आचार्य उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा तत्कालीन बंगलादेशी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले ८ मत पाउँदा आचार्यले २ मत मात्रै प्राप्त गरेका थिए।
बंगलादेशमा भएको राजनीतिक परिवर्तन, वाजेदमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोप तथा डब्लूएचओको आन्तरिक छानबिनपछि उनलाई पदबाट निलम्बन गरिएको थियो। त्यसपछि उनले सेप्टेम्बर ९ मा क्षेत्रीय निर्देशक पदबाट राजीनामा दिएकी थिइन्।



