

काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ‘नक्कली फ्याकल्टी’ र ‘नक्कली बिरामी’ देखाएर चिकित्सा शिक्षा आयोगको निरीक्षणमा अनियमितता गरिएको आरोप लागेपछि विवाद चर्किएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले शुक्रबार प्रतिनिधिसभामा कलेजमाथि गम्भीर आरोप लगाएपछि निजी मेडिकल तथा डेण्टल कलेज एसोसिएशन अफ नेपालले त्यसप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै वीरगञ्ज निवासी सांसद अन्सारीले नेशनल मेडिकल कलेजमा अध्ययनरत पोस्ट ग्र्याजुएट (पीजी) विद्यार्थीहरू विगत १० दिनदेखि आन्दोलनमा रहेको बताएका थिए। विद्यार्थीहरूले कलेजमा भइरहेको भनिएको अनियमितताबारे आवाज उठाएपछि उनीहरूलाई होस्टेल खाली गर्न लगाइएको, अस्पतालमा काम गर्न तथा कलेजको गेटबाट प्रवेश गर्नसमेत रोक लगाइएको उनको दाबी थियो।
अन्सारीले कलेजमा करिब २५ जना ‘फेक फ्याकल्टी मेम्बर’ अर्थात् काम नगर्ने प्राध्यापक देखाएर पीजी सिट लिइएको आरोप लगाए। त्यस्तै, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा कलेज व्यवस्थापनले सुरक्षागार्डलाई नै बिरामी बनाएर इमर्जेन्सीमा राखेको र पानी चढाउन लगाएको दाबीसमेत उनले गरेका थिए।
उनले राज्यका नियामक निकायमाथि समेत प्रश्न उठाउँदै भनेका थिए, ‘नक्कली बिरामी, नक्कली टिचर, नक्कली निरीक्षणको नाममा राज्यमा यसरी गोरखधन्दा चलाएर रहेका कलेजहरूलाई राज्यले आफ्ना गहनाहरू, विद्यार्थीहरूको भविष्य अन्योलमा पार्न मिल्दैन।’
अन्सारीले विगतमा प्रभावशाली राजनीतिक व्यक्तिसँगको सम्बन्धका कारण यस्ता गतिविधिमाथि कारबाही हुन नसकेको आरोपसमेत लगाए। चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालयको डिन कार्यालय, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासनसम्म प्रभावमा परेको उनको दाबी थियो।
चिकित्सा शिक्षामा देखिएको भनिएको विकृतिको तुलना गर्दै अन्सारीले चर्चित हिन्दी चलचित्र ‘मुन्ना भाइ एमबीबीएस’को प्रसंगसमेत जोडे। उनले भने, ‘मुन्ना भाइमा हेर्दाखेरि त रमाइलो लाग्थ्यो ३ घण्टा, तर राज्यमा नै खुलेआम ‘मुन्ना भाइ’ चल्दाखेरि यो राज्यको लागि गम्भीर विषय हो।’
अन्सारीले कलेजमा एउटा विषय पास गराउन नेपाली विद्यार्थीबाट ३ लाख र विदेशी विद्यार्थीबाट ५ लाख रुपैयाँ लिने गरेको आरोपसमेत लगाए। रकम लिएर उत्तरपुस्तिकामै उत्तर लेखेर पास गराउने गतिविधि भइरहेको उनको दाबी थियो। उनले यस्ता गतिविधिले भविष्यमा बिरामीको उपचारमा गम्भीर त्रुटि निम्त्याउन सक्ने भन्दै सरकारको तत्काल ध्यानाकर्षण गराएका थिए।
उनले विद्यार्थीहरूको माग सम्बोधन गर्दै समस्या पुष्टि भए आन्दोलनरत विद्यार्थीलाई अन्य मेडिकल कलेजमा व्यवस्थापन गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने बताएका थिए।
सांसद अन्सारीका यी आरोपप्रति निजी मेडिकल तथा डेण्टल कलेज एसोसिएशन अफ नेपालले भने गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एसोसिएशनले संकाय सदस्य, स्नातकोत्तर प्रशिक्षण, नियामक निरीक्षण, अस्पताल सेवा तथा विद्यार्थीको शैक्षिक वातावरणसँग सम्बन्धित विषय सामान्य प्रकृतिका नभएको भन्दै यस्ता आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएको छ।
एसोसिएशनले कुनै मेडिकल कलेजमा अनियमितता भएको तथ्य र प्रमाण भए चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिललगायत अधिकारप्राप्त नियामक निकायबाट छानबिन र कारबाही हुनुपर्ने स्पष्ट पारेको छ। अनियमितता प्रमाणित भए जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्नेमा आफूहरू स्पष्ट रहेको एसोसिएशनको भनाइ छ।
तर छानबिन र आधिकारिक निष्कर्ष आउनुअघि आरोपलाई नै स्थापित तथ्यका रूपमा प्रस्तुत गर्न नहुने एसोसिएशनले जनाएको छ। त्यसरी आरोपलाई तथ्यका रूपमा स्थापित गर्दा सम्बन्धित संस्थाको प्रतिष्ठामात्र नभई विद्यार्थीको भविष्य, चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशागत प्रतिष्ठा, बिरामीको विश्वास र समग्र चिकित्सा शिक्षा प्रणालीप्रतिको सार्वजनिक भरोसामा असर पर्न सक्ने उसको भनाइ छ।
एसोसिएशनले चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल तथा अन्य अधिकारप्राप्त निकायलाई सांसद अन्सारीले सार्वजनिक रूपमा उठाएका विषयमा शीघ्र, निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ।



