

काठमाडौं । ‘अवरोध तोडौँ, आशा जगाऔँ : क्यान्सरविरुद्ध सामूहिक लडाइँ’ भन्ने नारासहित नेपाल क्यान्सर सम्मेलन (एनसिसी–२०२६) काठमाडौंमा जारी छ। नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रको आयोजनामा शुक्रबारदेखि सुरु भएको सम्मेलन होटल र्याडिसनमा शनिबारसम्म चल्नेछ।
सम्मेलनमा यस वर्ष स्तन तथा फोक्सोको क्यान्सरलाई विशेष प्राथमिकतामा राखिएको छ। क्यान्सर उपचार, निदान, अनुसन्धान तथा बिरामीको उपचारमा देखिएका चुनौतीका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञबीच छलफल भइरहेको आयोजकले जनाएको छ।

विश्व स्वास्थ्य संगठनअन्तर्गत अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान संस्था (आईएआरसी) को ग्लोबोकान २०२४ अनुसार नेपालमा वार्षिक करिब २४ हजार ४९९ नयाँ क्यान्सरका बिरामी थपिने र १७ हजार २१३ जनाको क्यान्सरका कारण मृत्यु हुने अनुमान छ। ७५ वर्षको उमेर नपुग्दै क्यान्सर हुने जोखिम ९.९ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ।
नेपालमा महिलामा सबैभन्दा बढी देखिने क्यान्सर स्तन क्यान्सर हो। वार्षिक करिब १ हजार ७४६ नयाँ स्तन क्यान्सरका बिरामी थपिने र ७५० जनाको मृत्यु हुने अनुमान छ। त्यस्तै, फोक्सोको क्यान्सरका वार्षिक १ हजार ४७७ नयाँ बिरामी थपिने र १ हजार ३५८ जनाको मृत्यु हुने अनुमान छ।
सम्मेलनमा क्यान्सर उपचारमा आवश्यक औषधिको उपलब्धता, मूल्य, आयात, दर्ता प्रक्रिया र सुरक्षाका विषयमा समेत छलफल भइरहेको छ। शनिबार ‘औषधि अभावदेखि क्यान्सर औषधि सुरक्षासम्म–राष्ट्रिय कार्यसूची’ विषयमा राष्ट्रिय संगोष्ठी आयोजना हुँदैछ।
संगोष्ठीमा सांसद, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, औषधि व्यवस्था विभाग, अस्पताल, औषधि उद्यमी, क्यान्सर रोग विशेषज्ञ तथा क्यान्सर विजेताबीच छलफल हुनेछ। अत्यावश्यक क्यान्सर औषधिको अभाव हुन नदिन पूर्वसूचना प्रणाली, औषधिको मूल्य तथा खरिद प्रणालीमा पारदर्शिता, बिरामीको उपचार खर्च घटाउने उपाय र नयाँ औषधिको दर्ता प्रक्रियालाई सहज बनाउने विषयमा छलफल हुनेछ।
सम्मेलनमा ४०० भन्दा बढी प्रतिनिधि तथा १५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञका मुख्य व्याख्यान, सीएमई, बहुविषयक प्यानल छलफल, मौलिक अनुसन्धानका प्रस्तुति, क्यान्सर विजेताको अनुभव तथा नर्सिङ सत्र सम्मेलनका प्रमुख कार्यक्रम रहेका छन्।



