

काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका आवासीय चिकित्सक पढ्ने वातावरण बनाउन माग गर्दै चिकित्सा शिक्षा आयोग पुगेका छन्।
कलेज प्रशासनले आवासीय चिकित्सकलाई अस्पताल तथा होस्टल खाली गर्न निर्देशन दिएपछि उनीहरू काठमाडौं आएका हुन्। आयोगमा आएका चिकित्सकहरू स्नातकोत्तर तह पहिलो वर्षका आवासीय चिकित्सक हुन्।
आवासीय चिकित्सक विवेक भट्टराईका अनुसार नेशनल मेडिकल कलेजमा अध्ययनरत ५२ जनामध्ये ४० जना अहिले सानोठिमीमा आएका छन्। उनीहरू सबै वीरगञ्जबाट काठमाडौं आएको उनले बताए। ‘त्यहाँ पढ्ने वातावरण छैन। डर र धम्की दिइएको छ। अनुत्तीर्ण गर्ने, थेसिसमा साइन नगर्ने जस्ता धम्की आएको छ,’ भट्टराईले भने।
पढ्ने वातावरण नभएपछि न्याय माग्दै चिकित्सा शिक्षा आयोग आएको उनले बताए। चिकित्सा शिक्षा आयोगको परीक्षामार्फत सरकारले आफूहरूलाई नेशनल मेडिकल कलेजमा अध्ययनका लागि पठाएको भन्दै उनले अर्को ठाउँमा अध्ययन गर्ने व्यवस्था मिलाउन माग गरे।
यसअघि पनि नेशनल मेडिकल कलेजले पीजी आवासीय चिकित्सकलाई तत्काल कलेज छाड्न निर्देशन दिएको थियो। त्यसपछि चिकित्सकहरू आन्दोलनमा छन्।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले नेशनल मेडिकल कलेजमा अध्ययनरत पीजी विद्यार्थीको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै अन्सारीले पीजी विद्यार्थीहरू विगत १० दिनदेखि आन्दोलनमा रहेको र उनीहरूलाई होस्टल खाली गर्न, आन्दोलन गर्न तथा कलेजको गेटबाट प्रवेश गर्नसमेत रोक लगाइएको दाबी गरे।
उनले नेशनल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा पार्न नहुने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।



