

काठमाडौँ । देशभर ९ हजार जनामा स्क्रब टाइफस संक्रमण देखिएको छ। सल्यानको दार्मा गाउँपालिकाबाट सुरु भएको संक्रमण हाल ७४ जिल्लामा फैलिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ।
दार्मा गाउँपालिकामा मात्रै करिब ६ सय जनामा संक्रमण देखिएको छ भने एक महिनाको अवधिमा १२ वर्षीय बालकदेखि ८२ वर्षसम्मका ८ जनाको मृत्यु भएको छ। गाउँपालिकाका ६ वटै वडामा संक्रमण फैलिएको जनाइएको छ।
अन्य जिल्लामा भने स्क्रब टाइफसका कारण मृत्यु भएको विवरण प्राप्त नभएको जनाइएको छ। दार्मामा पछिल्लो एक महिनायता संक्रमण तीव्र रूपमा फैलिएको हो।
ईडीसीडीको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार नेपालमा प्रत्येक वर्ष स्क्रब टाइफसका बिरामी देखिने गरेका छन्। तर एउटै गाउँपालिकामा यसपटक धेरै जनाको मृत्यु हुनुको कारणबारे अनुसन्धान भइरहेको उनले बताए।
“स्क्रब टाइफस प्रत्येक वर्ष नै देखिने गरेको छ। तर यो वर्ष एउटै गाउँपालिकामा किन मृत्यु धेरै भयो भनेर अनुसन्धान गरिरहेका छौँ,” उनले भने।
उनका अनुसार स्क्रब टाइफस संक्रमणले बिरामीमा रहेका पुराना रोगलाई थप जटिल बनाउन सक्ने भएकाले अवस्था गम्भीर बन्न सक्छ। संक्रमणकै कारण मृत्यु भएको हो वा अन्य कारणले भन्ने विषय छुट्याउन भने कतिपय अवस्थामा कठिन हुने उनले बताए।
स्क्रब टाइफस आँखाले देख्न नसकिने माइटको टोकाइबाट सर्ने ब्याक्टेरियल संक्रमण हो। समयमा पहिचान गरी उपचार पाए यो रोग पूर्ण रूपमा निको हुने डा. दाहाल बताउँछन्।
“स्क्रब टाइफस निको हुने रोग हो। यो ब्याक्टेरियाका कारण लाग्छ। समयमा नै उपचार पाए मृत्यु हुँदैन,” उनले भने, “तर यसले पुरानो रोगलाई बढाउने हुँदा बिरामीको अवस्था गम्भीर हुन सक्छ।”
उनले ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन आग्रह गरेका छन्। चिकित्सकले पनि बिरामीको लक्षणका आधारमा स्क्रब टाइफसको सम्भावना पहिचान गरी आवश्यक परीक्षण गराउनुपर्ने उनको भनाइ छ।
“ज्वरो आइरहेको छ भने तुरुन्त अस्पताल जानुहोस्। चिकित्सकले पनि स्क्रब टाइफस हुन सक्छ भनेर शंका गरी परीक्षण गराउनुपर्छ,” डा. दाहालले भने, “यसको औषधि भएकाले तत्काल उपचार गरे निको हुन्छ। त्यसकारण लक्षण देखिनासाथ अस्पताल जानुहोस्, घरमा नबस्नुहोस्।”
के हो स्क्रब टाइफस ?
स्क्रब टाइफस माइटको टोकाइबाट मानिसमा सर्ने संक्रामक रोग हो। माइटमा पाइने ओरिएन्सिया सुसुगामुसी नामक जीवाणुका कारण यो रोग लाग्छ। माइट प्रायः झाडी, खेतबारी, वनजंगल तथा घर वरिपरिको झाडी र घुर्यान क्षेत्रमा पाइन्छ।
खेतीपाती तथा जंगलमा काम गर्ने व्यक्तिमा यसको जोखिम बढी हुने गर्छ। गाईवस्तुसँगको सम्पर्क तथा माइटको बासस्थानमा पुग्दा पनि संक्रमणको जोखिम हुन्छ। स्क्रब टाइफस मानिसबाट मानिसमा भने सर्दैन।
नेपालमा स्क्रब टाइफस डेंगुपछिको धेरै देखिने कीटजन्य रोगमध्ये एक हो। २०७२ सालको भूकम्पपछि नेपालमा यसको संक्रमण देखिन थालेको हो। ग्रामीण तथा पहाडी क्षेत्रमा यसको फैलावट बढी देखिए पनि सहरी क्षेत्रमा समेत संक्रमण हुने गरेको चिकित्सकहरू बताउँछन्।
स्क्रब टाइफसका बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, खान मन नलाग्ने, खोकी लाग्ने, आँखा रातो हुने, धेरै पसिना आउने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखिन सक्छन्। माइटले टोकेको ठाउँमा रातो डाबरजस्तो दाग देखिने र पछि कालो दाग बस्ने पनि हुन सक्छ।
सुरुवातमा सामान्य जस्तो देखिने लक्षणलाई बेवास्ता गर्दा संक्रमण गम्भीर बन्न सक्छ। उपचार नभए निमोनिया हुनुका साथै कलेजो, मिर्गौला तथा श्वासप्रश्वासमा समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार रगत परीक्षणबाट स्क्रब टाइफस पहिचान गर्न सकिन्छ। लक्षण देखिएका व्यक्तिले समयमै परीक्षण गराएर उपचार सुरु गरे पूर्ण रूपमा निको हुने उनले बताए।
खेतीपाती गर्ने तथा जंगलनजिक बस्ने व्यक्तिमा जोखिम बढी भए पनि सहरी क्षेत्रमा पार्क, दुबो तथा झाडी भएको ठाउँमा खाली खुट्टा हिँड्दा पनि माइटको टोकाइबाट संक्रमण हुन सक्ने चिकित्सकहरूको भनाइ छ।
स्क्रब टाइफसका लक्षण अन्य संक्रामक रोगसँग मिल्दोजुल्दो हुने भएकाले पहिचानमा कठिनाइ हुन सक्छ। त्यसैले लामो समयसम्म ज्वरो आएमा वा माइटले टोकेको सम्भावना भए स्वास्थ्य संस्थामा गएर परीक्षण तथा उपचार गराउन चिकित्सकहरूले सुझाव दिएका छन्।



