बैतडी । गर्मीयाम सुरु भएसँगै बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्। चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै जिल्लामा १३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीको तथ्यांक छ।
जिल्लाका किशोरदेखि वृद्धवृद्धासम्म स्क्रब टाइफसबाट प्रभावित भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं तथ्यांक अधिकृत खगेन्द्र कार्कीका अनुसार दस स्थानीय तहमध्ये मेलौली नगरपालिकामा सबैभन्दा बढी ७० जना र पञ्चेश्वर गाउँपालिकामा ३३ जना बिरामी भेटिएका छन्।
त्यस्तै, पाटन नगरपालिकामा १९ जना, सिगास गाउँपालिकामा ७ जना, पुर्चौंडी नगरपालिकामा ५ जना, सुर्नया गाउँपालिकामा २ जना, डिलासैनी गाउँपालिकामा १ जना र दशरथचन्द नगरपालिकामा २ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्।
पछिल्ला दुई वर्षको तथ्यांक हेर्दा बैतडीमा स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै गएको देखिन्छ। आर्थिक वर्ष २०८१/८२ मा १३६ जना बिरामी भेटिएकोमा गत आर्थिक वर्षमा यो संख्या बढेर ३९४ पुगेको थियो।
स्वास्थ्य कार्यालयका अनुसार निरन्तर र धेरै ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, धेरै पसिना आउने, शरीरमा बिमिरा देखिने, आँखा रातो हुने, झाडापखाला लाग्ने तथा किराले टोकेको ठाउँमा नदुख्ने कालो पाप्रोजस्तो घाउ देखिनु स्क्रब टाइफसका प्रमुख लक्षण हुन्।
स्वास्थ्य कार्यालय बैतडीका प्रमुख जनस्वास्थ्य अधिकृत तीर्थराज भट्टका अनुसार विशेषगरी वर्षायाममा स्क्रब टाइफसको संक्रमण बढी फैलिने गरेको छ। जिल्लाका सबै स्थानीय तहमा भेटिएका बिरामीमध्ये केही उपचारपछि निको भइसकेका छन् भने केहीको नजिकैका स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले बताए।
जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जिल्लाका सबै स्वास्थ्य संस्थामा स्क्रब टाइफसको उपचारका लागि आवश्यक औषधिको अभाव नरहेको जनाएको छ।









