

लमजुङ । उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा मस्र्याङ्दी गाउँपालिका–३ की २३ वर्षीया सोविता मिजारको पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै रोकिएको छ ।
आर्थिक अवस्था कमजोर रहेको परिवारले उपचारको बाँकी रकम भुक्तानी गर्न नसक्दा सोविताको पार्थिव शरीर घर ल्याएर अन्तिम संस्कार गर्न सकेको छैन । सोविताले भदौ ३१ गते विष सेवन गरेपछि तत्कालै चितवनस्थित सरकारी अस्पताल लगिएको थियो । सरकारी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) को सुविधा नभएपछि सोही राति उनलाई चितवन मेडिकल कलेज लगेर उपचार सुरु गरिएको सोविताका मामाका छोरा दीपक मजाकोटीले बताए ।
उनका अनुसार चितवन मेडिकल कलेजमा पु¥याएपछि अस्पतालले औषधि, शल्यक्रियालगायत उपचारका लागि सुरुमा करिब डेढ लाखदेखि दुई लाखसम्म खर्च लाग्ने जानकारी परिवारलाई दिएको थियो । त्यसअनुसार परिवारले उपचार अगाडि बढाएको थियो । उपचारकै क्रममा असोज ४ गते सोविताको शल्यक्रियासमेत गरिएको थियो । तर उपचारका क्रममा सोमबार सोविताको मृत्यु भएको परिवारले जनाएको छ ।
चितवन मेडिकल कलेजको बिलिङ काउन्टरका एक कर्मचारीका अनुसार हाल अस्पतालतर्फ तीन लाख ५० हजार ९१० र अस्पतालकै फार्मेसीतर्फ दुई लाख २२ हजार ५७० गरी जम्मा पाँच लाख ७३ हजार ४८० भुक्तानी गर्न बाँकी रहेको छ । अस्पतालतर्फ बेड, ‘इमर्जेन्सी’लगायत उपचारका विभिन्न शीर्षकको रकम बाँकी रहेको कर्मचारीले जानकारी दिए ।
उनका अनुसार उपचारका क्रममा परिवारले इमर्जेन्सीमा करिब नौ हजारभन्दा बढी तथा उपचारका क्रममा करिब दुई लाख १८ हजार बुझाइसकेको छ । त्यस्तै, शल्यक्रियाका क्रममा धरौटीबापत करिब १० हजारसमेत बुझाइएको बिलिङ काउन्टरका कर्मचारीले जानकारी दिए । परिवारले भने उपचारका क्रममा ऋण खोजेर हालसम्म करिब तीन लाख भुक्तानी गरिसकेको जनाएको छ ।
“सुरुमा डेढदेखि दुई लाखभित्र उपचार हुन्छ भनिएको थियो। अहिलेसम्म ऋण खोजेर करिब तीन लाख तिरिसकेका छौँ । अब बाँकी रकम कहाँबाट ल्याउने भन्ने समस्या भएको छ”, दीपक मजाकोटीले भने । उपचारका क्रममा सोविताको निधन भएपछि चितवन मेडिकल कलेजमा पार्थिव शरीर राख्ने ठाउँको अभावमा सरकारी अस्पतालमा लगेर राखिएको परिवारले जनाएको छ ।
हाल सोविताको पार्थिव शरीर सरकारी अस्पतालमै रहेको छ । बाँकी रकम भुक्तानी गर्न नसक्दा पार्थिव शरीर घर लैजान नसकिएको परिवारको भनाइ छ । परिवारका अनुसार सोविताले विष सेवन गर्नुका कारण व्यक्तिगत सम्बन्धसँग जोडिएको विषय रहेको छ ।
लमजुङकै एक युवकसँगको सम्बन्धमा आएको समस्याका कारण उनले विष सेवन गरेको परिवारको दाबी छ । उपचारका क्रममा ती युवक अस्पताल आउने–जाने गर्दै आएको र उपचार खर्चमा सहयोग गर्ने बताउँदै आएको परिवारले जनाएको छ । परिवारका अनुसार सोविताको निधन हुनुअघिसम्म ती युवक अस्पताल आउनेजाने गरेका थिए । निधनपछि पनि रकम जुटाएर सहयोग गर्ने भन्दै आउने बताएका भए पनि हालसम्म नआएको परिवारको भनाइ छ । आज बिहानसमेत फोनमा आउने बताएका भए पनि नआएको परिवारले जनाएको छ । ती युवक आएर उपचार खर्चमा सक्दो सहयोग गरे आपसी समझदारीमा अघि बढ्ने परिवारले जनाएको छ ।
युवकबाट सहयोग प्राप्त भए बाँकी रकम अस्पतालमा बुझाएर सोविताको पार्थिव शरीर घर लैजाने तयारीमा परिवार रहेको जनाएको छ । सहयोग नआएमा घटनाबारे कानुनी प्रक्रिया अघि बढाउने विषयमा सोचिरहेको परिवारले जनाएको छ । सोविता करिब साढे तीन वर्षदेखि चितवनमा बस्दै एक रेस्टुरेन्टमा काम गर्दै आएकी थिइन् । उनी परिवारकी जेठी छोरी थिइन् । परिवारमा बुबाआमा, तीन दिदीबहिनी र एक भाइ रहेको आफन्तले बताएका छन् ।
चितवनमा रहेर काम गर्दै उनले परिवारलाई आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएकी थिइन् । “हामीसँग अहिले पैसा छैन । भएको पैसा पनि उपचारमै सकियो । बहिनीको शव घर ल्याएर अन्तिम संस्कार गर्नसमेत नसक्ने अवस्था भएको छ”, सोविताकी बहिनी सङ्गीता मिजारले भनिन् । उनका अनुसार अस्पतालको बाँकी रकम जुटाउन परिवार र आफन्तले प्रयास गरिरहेका छन् ।
रकम जुटाएर अस्पतालको बिल भुक्तानी गरेपछि सोविताको पार्थिव शरीर लमजुङ ल्याई अन्तिम संस्कार गर्ने परिवारको तयारी छ ।
आर्थिक अभावका कारण छोरीको अन्तिम संस्कारसमेत गर्न नसक्ने अवस्थामा पुगेको परिवारले पार्थिव शरीर घर ल्याउन र अन्तिम संस्कार सम्पन्न गर्न सहयोग गरिदिन सबैसँग अपिल गरेको छ ।



