

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको तीन सय मिटर आसपास निजी स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य निर्देशनालयलाई पुनः ताकेता गरेको छ।
सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालय डोटीलाई पत्र पठाउँदै सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ को दफा २७ को उपदफा (१) कार्यान्वयन गर्न निर्देशन दिएको हो। उक्त कानुनी व्यवस्थाअनुसार सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाको परिसरबाट तीन सय मिटर दूरीभित्र निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, नर्सिङहोम, प्रयोगशालालगायत स्वास्थ्यसम्बन्धी निजी व्यवसाय सञ्चालन गर्न पाइँदैन।
मन्त्रालयले यसअघि २०७९ मंसिर २९ गते ‘निजी अस्पताल तथा स्वास्थ्यसम्बन्धी व्यवसाय स्थानान्तरण मापदण्ड, २०७९’ सहित उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशनालयलाई निर्देशन दिइसकेको जनाएको छ। तर कानुनी व्यवस्था र मापदण्ड हालसम्म कार्यान्वयन भएको नदेखिएको भन्दै मन्त्रालयले ऐनको दफा २७ तथा मापदण्ड, २०७९ तत्काल कार्यान्वयन गर्न पुनः ताकेता गरेको हो।
मन्त्रालयले २०८३ असोज १३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार ऐन तथा मापदण्ड कार्यान्वयन गर्न स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएको छ।



