

काठमाडौं । मुटुरोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउनुका साथै उमेरअनुसार नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने मुटुरोग विशेषज्ञले बताएका छन्। ह्याम्स अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. रोशन राउतले मुटुरोगको जोखिम भएका व्यक्तिले खानपान र शारीरिक गतिविधिमा विशेष ध्यान दिनुपर्ने बताएका हुन्।
उनका अनुसार मुटुलाई स्वस्थ राख्न तनाव कम गर्ने, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने र नियमित व्यायाम गर्ने बानी आवश्यक छ। हप्तामा कम्तीमा पाँच दिन ३० मिनेटभन्दा बढी व्यायाम गर्न र हिँड्दा सामान्यभन्दा केही छिटो हिँड्न उनले सुझाव दिएका छन्।
मुटुरोगलाई ‘साइलेन्ट किलर’ पनि भनिने भन्दै डा. राउतले लक्षण नदेखिँदै पनि मुटुसम्बन्धी समस्या हुन सक्ने बताए। उनका अनुसार मुटुरोगका कारण मृत्यु भएका करिब ५० प्रतिशत व्यक्तिमा सुरुवाती रूपमा कुनै लक्षण नदेखिन सक्छ।
छाती दुख्ने समस्या देखिए त्यसलाई सामान्य रूपमा नलिन र तत्काल स्वास्थ्य संस्थामा गएर ईसीजीलगायत आवश्यक परीक्षण गराउन उनले सुझाव दिए। १८ वर्षको उमेरपछि समय–समयमा रक्तचाप र कोलेस्ट्रोल जाँच गराइरहनुपर्ने उनको भनाइ छ।
विशेषगरी ४० वर्षपछि वा मुटुरोगको जोखिम भएका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार ईसीजी तथा अन्य आवश्यक परीक्षण गराउनुपर्ने उनले बताए। पेटको माथिल्लो भाग दुख्दा त्यसलाई ग्यास्ट्रिक मात्र भनेर बेवास्ता गर्न नहुने भन्दै उनले यस्तो दुखाइ कहिलेकाहीँ हृदयघातको संकेत पनि हुन सक्ने बताए।
हिँड्दा, दौडिँदा, आत्तिँदा वा ज्वरो आएको अवस्थामा मुटुको धड्कन बढ्नु सामान्य हुन सक्ने भए पनि अचानक मुटुको धड्कन बढेमा परीक्षण गराउनुपर्ने डा. राउतले बताए।
मुटुरोगको जोखिम बढाउने प्रमुख कारणमा धूम्रपान, सुर्तीजन्य पदार्थको सेवन, उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह, मोटोपन, निष्क्रिय जीवनशैली, बढ्दो उमेर र परिवारमा मुटुरोगको इतिहास रहेका उनले बताए। यस्ता जोखिम भएका व्यक्तिले लक्षण देखिएलगत्तै स्वास्थ्य संस्थामा गएर जाँच गराउनुपर्ने उनको सुझाव छ।
छाती दुखाइ मुटुसम्बन्धी समस्या हुन सक्ने अवस्थामा चिकित्सकीय सल्लाहअनुसार उपचार गर्नुपर्ने भन्दै उनले आफैंले औषधि सेवन नगर्न पनि आग्रह गरे। विशेषगरी एस्प्रिनजस्ता रगत पातलो बनाउने औषधि चिकित्सकको सल्लाहबिना सेवन गर्न नहुने उनको भनाइ छ।
उनका अनुसार धूम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थबाट टाढा रहने, खानपानमा ध्यान दिने र नियमित व्यायाम गर्ने हो भने मुटुरोगको जोखिम कम गर्न सकिन्छ।



