

काठमाडौं । औषधिको भण्डारण र आपूर्ति शृङ्खलाबारे आफ्नो भनाइलाई लिएर नेपाल औषधि व्यवसायी संघले आपत्ति जनाएपछि टाइम फर्मास्युटिकल्सले स्पष्टीकरण दिएको छ। कम्पनीले थोक तथा खुद्रा औषधि विक्रेताको भण्डारणका कारण आफ्नो उत्पादनको गुणस्तरमा कमी आएको भन्ने आशय आफ्नो नरहेको स्पष्ट पारेको छ।
टाइम फर्मास्युटिकल्सका अध्यक्ष डा. नारायणबहादुर क्षेत्रीले प्रेस विज्ञप्ति जारी गर्दै औषधिको भण्डारण तथा आपूर्ति शृङ्खला व्यवस्थापनले औषधिको गुणस्तरमा प्रभाव पार्न सक्ने भएकाले नियामक निकायलाई आवश्यक नीति तथा नियम बनाएर त्यसको पालना गराउन आग्रह गरिएको बताएका छन्।
कम्पनीले औषधि थोक तथा खुद्रा विक्रेताले उत्पादक कम्पनीको शाख गिराउने काम गरेको भन्ने आशयसमेत आफ्नो नरहेको जनाएको छ।
कम्पनीले औषधि व्यवस्था विभागलाई यसअघि पठाएको पत्रमा गरिएको अनुरोधलाई अन्यथा नबुझ्न आग्रह गर्दै उक्त विषयलाई आपूर्ति शृङ्खला व्यवस्थापनसँग जोडेर हेर्न अनुरोध गरेको छ।
टाइम फर्मास्युटिकल्सले औषधिको आपूर्ति शृङ्खलामा संलग्न थोक तथा खुद्रा व्यवसायीसहित सबै संघ–संस्थाले आफ्नो भनाइलाई सकारात्मक रूपमा लिने अपेक्षा व्यक्त गरेको छ।
कम्पनीले नेपाल औषधि व्यवसायी संघले औषधिको आपूर्ति शृङ्खला व्यवस्थापनमा गर्दै आएको योगदानको समेत प्रशंसा गरेको छ। औषधिको गुणस्तरीय आपूर्तिका लागि उत्पादक, नियामक निकाय, औषधि व्यवसायी, अस्पताल तथा अन्य सरोकारवाला निकायबीच पारदर्शी सहकार्य, समन्वय र जिम्मेवार व्यवहार आवश्यक रहेको संघको आह्वानप्रति आफ्नो समर्थन र एक्यवद्धता रहेको कम्पनीले जनाएको छ।
के हो विवाद ?
औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरेको टाइम फर्मास्युटिकल्सको ‘ग्लिपिड–१’ को ब्याच नम्बर जीएम–०७० को नमुना परीक्षण गर्दा ‘डिसोलुसन टेस्ट’मा तोकिएको मापदण्डअनुसार नदेखिएपछि बजारबाट फिर्ता गर्न कम्पनीलाई निर्देशन दिएको थियो।
त्यसपछि कम्पनीले विभागलाई पत्र पठाउँदै आफ्नै प्रयोगशालामा सुरक्षित राखिएको ‘कन्ट्रोल नमुना’ पुनः परीक्षण गर्दा औषधि गुणस्तरअनुसार नै रहेको दाबी गरेको थियो।
कम्पनीले विभागमा यसअघि बुझाइएको उत्पादन मापदण्डअनुसार परीक्षण गर्दा पनि उक्त औषधि ‘डिसोलुसन फेल’ नभएको दाबी गर्दै बजारबाट औषधि फिर्ता गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेको थियो।
सोही पत्रमा औषधिको गुणस्तरमा उत्पादन प्रक्रियाको मात्र भूमिका नहुने र भण्डारण तथा आपूर्ति शृङ्खला व्यवस्थापनले पनि प्रभाव पार्न सक्ने विषय उठाइएको थियो।
कम्पनीको यही भनाइप्रति नेपाल औषधि व्यवसायी संघले आपत्ति जनाएको थियो। संघले उत्पादक कम्पनीले आफ्नो प्राविधिक दायित्वबाट पन्छिन खोज्दै थोक तथा खुद्रा औषधि व्यवसायी, अस्पताल र स्वास्थ्य संस्थालाई दोषी देखाउन खोजेको आरोप लगाउँदै उक्त भनाइ फिर्ता लिन माग गरेको थियो।
त्यसपछि टाइम फर्मास्युटिकल्सले नयाँ विज्ञप्ति जारी गर्दै आफ्नो भनाइको आशय थोक तथा खुद्रा व्यवसायीलाई दोष लगाउनु नभएको स्पष्ट पारेको हो।



