

काठमाडौं। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर (पीजी) आवासीय चिकित्सकलाई तत्काल कलेज छाड्न निर्देशन दिएको छ।
कलेजले बिहीबार सूचना जारी गर्दै प्रथम वर्षका पीजी आवासीय चिकित्सकको कक्षा, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटीसहितका सबै शैक्षिक तथा प्रशिक्षण गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जनाएको छ।
कलेजका प्रधानाचार्य र होटल सुपरिटेन्डेन्टद्वारा जारी सूचनामा हालको शैक्षिक तथा संस्थागत परिस्थितिलाई ध्यानमा राख्दै शैक्षिक सत्र २०८२ का प्रथम वर्षका पीजी आवासीय चिकित्सकलाई कलेजबाट फिर्ता बोलाइदिन चिकित्सा शाखा अध्ययन संस्थान (आईओएम) र त्रिभुवन विश्वविद्यालयसमक्ष औपचारिक अनुरोध गरिएको उल्लेख छ।
कलेजले अर्को सूचना जारी नभएसम्म प्रथम वर्षका सबै पीजी आवासीय चिकित्सकको कक्षा, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटी र अन्य प्रशिक्षण गतिविधि सञ्चालन नहुने स्पष्ट पारेको छ।
त्यस्तै, कलेजले उपलब्ध गराएको छात्रावासको कोठा, क्वार्टर वा अन्य आवासीय सुविधा सूचना जारी भएको समयदेखि १२ घण्टाभित्र खाली गर्न आवासीय चिकित्सकलाई निर्देशन दिएको छ।
कलेजको सूचनाअनुसार आवासीय चिकित्सकले आफू जिम्मामा रहेको कलेजको कुनै पनि सम्पत्ति सम्बन्धित छात्रावास प्रशासन वा प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ।
यसका साथै तोकिएको समयभित्र आवश्यक हस्तान्तरण प्रक्रिया पूरा गरी आवासीय परिसरबाट आफ्ना व्यक्तिगत सामानसमेत हटाउन कलेजले निर्देशन दिएको छ।



