

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन्।
काउन्सिलले असोज ५ र ६ गते सञ्चालन गरेको परीक्षामा एमबीबीएसतर्फ लाइसेन्सका लागि १ हजार ७५ जनाले आवेदन दिएका थिए। तीमध्ये १ हजार ५४ जनाले परीक्षा दिएका थिए।
परीक्षा दिएका १ हजार ५४ जनामध्ये ४७३ जना मात्रै उत्तीर्ण भएका छन्। यो कुल परीक्षार्थीको ४४.८८ प्रतिशत हो। एमबीबीएसतर्फ ५८१ जना अनुत्तीर्ण भएका छन्।
यस्तै, बीडीएसतर्फको नतिजा पनि कमजोर देखिएको छ। काउन्सिलका अनुसार परीक्षा दिएका १३१ जनामध्ये ३८ जना मात्रै उत्तीर्ण भएका छन्। यो कुल परीक्षार्थीको २९.०१ प्रतिशत हो।
बीडीएसतर्फ ९३ जना अनुत्तीर्ण भएका छन् भने एक जनाको परीक्षाफल रोकिएको काउन्सिलले जनाएको छ। बीडीएस लाइसेन्स परीक्षाका लागि १३३ जनाले आवेदन दिए पनि १३१ जनाले मात्रै परीक्षा दिएका थिए।
यसअनुसार एमबीबीएसतर्फ परीक्षा दिएका परीक्षार्थीमध्ये ५५.१२ प्रतिशत अनुत्तीर्ण भएका छन् भने बीडीएसतर्फ ७०.९९ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन्।



