

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ छातीमा असजिलो भएपछि स्वास्थ्य परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन्। मंगलबार मध्यान्ह महाबौद्धस्थित ट्रमा सेन्टर पुगेका उनले चिकित्सकको टोलीमार्फत आवश्यक स्वास्थ्य परीक्षण गराएका हुन्।
तर, गृहमन्त्रीले छातीसम्बन्धी समस्या देखिएपछि उपचारका लागि रोजेको अस्पताललाई लिएर अहिले प्रश्न उठेको छ। दुर्घटना तथा ट्रमा उपचारका लागि परिचित राष्ट्रिय ट्रमा सेन्टरमै छातीको परीक्षण गराउन पुग्नु र नजिकै रहेको वीर अस्पताल नजानुको हास्यास्पद रहेकाे बताइन थालेकाे छ।
ट्रमा सेन्टरमा छातीसम्बन्धी परीक्षण वा उपचार हुँदै नहुने भन्ने होइन। तर, छाती तथा श्वासप्रश्वाससम्बन्धी उपचारका लागि वीर अस्पतालमा छुट्टै छाती तथा श्वासप्रश्वास युनिट छ। अस्पतालको आधिकारिक विवरणअनुसार त्यहाँ पल्मोनरी, क्रिटिकल केयर तथा स्लीप मेडिसिन विभागसँगै मुटुरोग विभाग र २४ घण्टा आकस्मिक सेवा पनि सञ्चालनमा छन्।
यस्तो अवस्थामा वीर अस्पताललाई छाडेर गृहमन्त्री ट्रमा सेन्टर पुग्नुले उनको अस्पताल रोजाइलाई लिएर चर्चा सुरु भएको हो। यद्यपि, ट्रमा सेन्टरमै परीक्षण गराउनुको विशेष कारण वा चिकित्सकीय सल्लाहबारे भने स्पष्ट विवरण सार्वजनिक भएको छैन।
गृहमन्त्री गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको र परीक्षणपछि चिकित्सकहरूले आवश्यक परामर्श दिएको जनाइएको छ।



