

पोखरा । पोखराको पद्म नर्सिङ होमलाई ५० शय्याबाट १०० शय्यामा स्तरोन्नति गरी सञ्चालन अनुमति दिने क्रममा घुस मागेको आरोप सार्वजनिक भएपछि गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. युवानिधि बसौलाको जिम्मेवारी खोसिएको छ।
प्रदेश सरकारले बसौलालाई अर्को व्यवस्था नभएसम्म स्वास्थ्य मन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री जीतबहादुर शेरचनले सचिवलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको जानकारी दिएका छन्।
प्रकरणको छानबिनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।
सरकारले घटनाबारे थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा पत्राचार गर्ने निर्णयसमेत गरेको छ। छानबिन प्रक्रिया टुंगो नलागेसम्म पद्म नर्सिङ होमलाई अस्पताल स्तरोन्नतिका लागि दिइएको अनुमति कार्यान्वयन नगर्ने निर्णय प्रदेश सरकारले गरेको छ।
यसैबीच, प्रकरणमा निवर्तमान स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेको समेत नाम जोडिएपछि नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलले छुट्टै छानबिन समिति गठन गरेको छ।
एमाले संसदीय दलले गठन गरेको समितिले पनि १५ दिनभित्र प्रतिवेदन बुझाउने जनाएको छ। यससँगै पद्म नर्सिङ होमको स्तरोन्नति अनुमति प्रक्रियामा उठेको विवादमाथि प्रदेश सरकार र एमाले संसदीय दल दुवैतर्फबाट छुट्टाछुट्टै छानबिन अघि बढेको छ।



