

काठमाडौं । नेपाल औषधि व्यवसायी सङ्घ काठमाडौं शाखाले जिल्लाभित्र सञ्चालित औषधि पसललाई कानुनी मापदण्ड पालना गर्दै सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ।
औषधि व्यवस्था विभागसँगको छलफलपछि सङ्घले सूचना जारी गर्दै दर्ताबिना औषधि पसल सञ्चालन नगर्न, अनुगमनबाट बच्न बिहान–बेलुका वा सार्वजनिक बिदाका दिन मात्र पसल खोल्ने प्रवृत्ति रोक्न तथा आफ्नो नाममा रहेको औषधि बिक्री–वितरणसम्बन्धी अनुमति वा व्यावसायिक प्रमाणपत्र अरूलाई भाडामा नदिन सचेत गराएको हो।
सङ्घका अनुसार औषधि व्यवसाय सामान्य व्यापारभन्दा फरक र जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले व्यवसायीले कानुनी अनुशासन तथा पेसागत मर्यादा कायम गर्न आवश्यक छ।
सङ्घले लागुऔषध, एन्टिबायोटिक्स तथा चिकित्सकको पुर्जा आवश्यक पर्ने औषधि बिनापुर्जा वा अनधिकृत रूपमा बिक्री–वितरण नगर्न पनि आग्रह गरेको छ। थोक व्यवसायीलाई समेत दर्ता नभएका वा वैधानिकता पुष्टि नभएका खुद्रा औषधि पसलमा औषधि आपूर्ति नगर्न भनिएको छ।
सूचनाको उल्लङ्घन गरी गैरकानुनी वा अनधिकृत गतिविधिमा संलग्न हुने तथा त्यस्ता गतिविधिमा सहयोग गर्ने व्यवसायीलाई सङ्घले संरक्षण नगर्ने जनाएको छ। नियामक निकायको अनुगमनका क्रममा कैफियत भेटिए प्रचलित कानुनअनुसार पसल बन्द, सिलबन्दी, औषधि जफत तथा अन्य दण्डात्मक कारबाही हुन सक्ने चेतावनीसमेत दिइएको छ।
सङ्घका महासचिव शुभमान श्रेष्ठले व्यवसायीलाई आफ्ना व्यावसायिक गतिविधिको तत्काल पुनरावलोकन गरी कानुनी मापदण्डअनुसार सञ्चालन गर्न आग्रह गरिएको जानकारी दिए।
यसैबीच, सङ्घले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९’ संशोधन विधेयकबारे पनि आफ्नो धारणा सार्वजनिक गरेको छ।
सङ्घले स्तनपानको संरक्षणसँगै शिशुको सुरक्षित पोषणको अधिकार सुनिश्चित हुनुपर्ने जनाएको छ। आमाको दूधलाई प्राथमिकता दिँदै दूध उपलब्ध हुन नसक्ने विशेष अवस्थामा स्वीकृत र गुणस्तरीय वैकल्पिक पोषण उपलब्ध गराउने व्यवस्था हुनुपर्ने उसको माग छ।
यस्ता वैकल्पिक पोषण सामग्रीको सुरक्षित र पारदर्शी बिक्री–वितरणका लागि योग्य औषधि पसलमार्फत व्यवस्था गर्नुपर्ने धारणा पनि सङ्घले अघि सारेको छ।



