

बेलायत । बेलायत र इजरायलका वैज्ञानिकहरूले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन्। अन्तर्राष्ट्रिय रक्तसञ्चार सोसाइटीले ‘जामा’लाई मानव शरीरको ४९औँ रक्त समूह प्रणालीका रूपमा मान्यता दिएको छ।
वैज्ञानिकहरूले एक इजरायली महिला र उनका भाइको रगतमा भेटिएको दुर्लभ एन्टिबडीको अध्ययन गर्ने क्रममा नयाँ रक्त समूह पहिचान गरेका हुन्। अनुसन्धानका क्रममा एफ ११ आर जीन तथा त्यसबाट बन्ने जेएएम–ए प्रोटिनसँग सम्बन्धित आनुवंशिक परिवर्तनसमेत फेला परेको थियो।
‘जामा’ रक्त समूहमा सामान्य मानिसमा पाइने एक विशेष एन्टिजन अनुपस्थित हुन्छ। यस्तो दुर्लभ अवस्था भएका व्यक्तिलाई सामान्य रक्त समूहको रगत दिँदा शरीरले एन्टिबडी बनाएर चढाइएको रातो रक्तकोषिकामाथि आक्रमण गर्न सक्ने भएकाले गम्भीर रक्तसञ्चार प्रतिक्रिया हुन सक्छ।
वैज्ञानिकहरूका अनुसार यो खोजले दुर्लभ रक्त समूह भएका बिरामी र उनीहरूका लागि उपयुक्त रक्तदाताको पहिचान गर्न सहयोग पुग्नेछ। डीएनए परीक्षणमार्फत बिरामी र रक्तदाताको पहिचान गर्न सकिने भएकाले भविष्यमा सुरक्षित रक्तसञ्चार तथा दुर्लभ एन्टिबडीको व्यवस्थापनमा यो खोज उपयोगी हुने अपेक्षा गरिएको छ।



