

नुवाकोट । बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न नुवाकोटमा सञ्चालन गरिएको हैजाविरुद्धको मुखबाट खुवाइने खोप अभियानअन्तर्गत ५० हजार ४६७ जनाले खोप सेवन गरेका छन्।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि खानेपानी तथा सरसफाइमा चुनौती थपिएसँगै हैजा फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा अभियान सञ्चालन गरिएको हो। जनस्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बाढी प्रभावित चार स्थानीय तहमा हालसम्म ५० हजारभन्दा बढीले खोप सेवन गरेका छन्।
जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा. अञ्जु कार्कीका अनुसार विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकाका ७७ हजारभन्दा बढी बासिन्दालाई खोप खुवाउने लक्ष्य राखिएको छ। अभियानअन्तर्गत हालसम्म ५० हजार ४६७ जनाले खोप लिइसकेको उनले जानकारी दिइन्।
‘सुरक्षित खानेपानी तथा सरसफाइको चुनौतीका कारण हैजालगायतका महामारी फैलिन नदिन खोप कार्यक्रमलाई अभियानका रूपमा सञ्चालनमा ल्याएका छौँ,’ डा. कार्कीले भनिन्, ‘हैजा तथा अन्य पानीजन्य रोगको जोखिमबाट बच्न खोपसँगै सुरक्षित पानीको प्रयोग, साबुनपानीले हात धुने तथा व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ।’
बाढीका कारण नुवाकोट र रसुवाका विभिन्न स्थानमा मानवीय तथा पशुचौपायाको क्षति हुनुका साथै ठूलो संख्यामा मानिस विस्थापित भएका छन्। बाढी प्रभावित तथा विस्थापितलाई विभिन्न स्थानमा स्थापना गरिएका होल्डिङ सेन्टरमा राखिएको अवस्थामा खानेपानी र सरसफाइको अवस्था चुनौतीपूर्ण बनेपछि हैजालगायत पानीजन्य रोगको जोखिम बढेको स्वास्थ्यकर्मीले बताएका छन्।
बाढी प्रभावित क्षेत्रमा प्रयोग भइरहेको पानीमा ई–कोलाई अर्थात् दिसाजन्य प्रदूषणको सूचक जीवाणु भेटिएपछि पानीजन्य रोगको जोखिम थप बढेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। यही जोखिमलाई मध्यनजर गर्दै रोगको प्रकोप नियन्त्रण तथा रोकथामका लागि आपत्कालीन रूपमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो।
जनस्वास्थ्य कार्यालयका अनुसार जन्मेको एक वर्ष पूरा भएका सबै व्यक्तिलाई खोप उपलब्ध गराउने व्यवस्था गरिएको छ। बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था तथा होल्डिङ सेन्टरमा खोप निःशुल्क उपलब्ध गराइएको छ। अभियानलाई प्रभावकारी बनाउन सार्वजनिक बिदाका दिनसमेत खोप सेवा सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
विदुर नगरपालिकामा मात्रै ५९ हजार २५४ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ। स्वास्थ्य शाखाका अनुसार हालसम्म नगरपालिकाभित्र ४० हजार २९१ जनाले खोप लगाइसकेका छन्। विदुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले खोप लगाउन बाँकी रहेका बासिन्दालाई नजिकैको स्वास्थ्य संस्थामा पुगेर खोप लिन आग्रह गरे।
‘खोप कार्यक्रम सातै दिन सञ्चालन भइरहेको छ। नगरपालिकाका सबै स्वास्थ्य संस्थाका साथै बाढी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा समेत खोप उपलब्ध गराइएको छ,’ उनले भने, ‘जोखिमलाई ध्यानमा राखेर लक्षित सबै नागरिकले खोप सेवन गर्नु अहिलेका लागि अत्यावश्यक रहेको छ।’
हैजाको संक्रमण हुँदा कडा जलवियोजन भएर ज्यानसमेत जान सक्ने भएकाले बाढी प्रभावित क्षेत्रमा विशेष अभियानका रूपमा खोप कार्यक्रम सञ्चालन गरिएको हो। स्वास्थ्यकर्मीले खोपसँगै उमालेर वा शुद्धीकरण गरेर सुरक्षित पानी पिउने, साबुनपानीले नियमित हात धुने, खाना सफा राख्ने तथा घर, टोल र आसपासको वातावरण सफा राख्न आग्रह गरेका छन्।
कडा किसिमको झाडापखाला देखिएमा हैजा हुन सक्ने भएकाले त्यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुगेर जाँच तथा उपचार गराउन डा. कार्कीले आग्रह गरिन्।



